काठमाडौं- विगत केही सातादेखि विनोदकुमार प्रजापति भक्तपुरको पोट्री स्वायरमा माटाका पाला बनाउन व्यस्त छन् । उनी तिहारमा बिक्री गर्न लागि पाला बनाउन तल्लीन भएका हुन् ।
विनोद मात्र होइन, जिल्लाका बोलाछेँ, सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली र मध्यपुर ठिमीका विभिन्न ठाउँमा माटाका भाँडा बनाएर व्यवसाय गर्नेहरूलाई अहिले चटारो छ । माटाको भाँडा बनाउनु कुमाले समुदायको पुख्र्यौली पेसा हो । उनीहरूले अहिले विभिन्न आकार र ढाँचाका पाला बनाइरहेका छन् ।
एक दिनमा हजार वटासम्म पाला बनाउन सकिने नयन प्रजापति बताउँछन् । यसरी बनाइएका पाला गोटाको २ देखि ३० रुपैयाँसम्म बिक्री हुन्छ ।
काँचो माटोबाट बनेका पालालाई २– ३ दिन घाममा सुकाइन्छ । त्यसपछि, आगोमा पोली तयार गरिन्छ । घाममा सुकाउने र आगोमा पोल्ने काम गर्न ५ दिन लाग्ने व्यवसायी बताउँछन् ।
तिहारमा घरभित्र र बाहिर बत्ती बालेमा लक्ष्मी प्रवेश गर्ने धार्मिक विश्वास छ । त्यसैले राजधानीलगायत देशका विभिन्न ठाउँमा तिहारका बेला माटोका पाला धेरै खपत हुन्छ । उज्यालो भएको घरमा मात्रै लक्ष्मीको बास हुने धार्मिक आस्थाका कारण बत्तीले झिलिमिली पारी घर सजाउने प्रचलन रहको बताउँछन् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः ।
आंैसी अँध्यारोको प्रतीक हो । दीप प्रज्वलनले अन्धकार हट्छ र त्यो उज्यालोमा लक्ष्मीको बास हुन्छ भन्नने विश्वास नेपाली समाजमा रहिआएको छ । तिहारमा झिलिमिली बनाउन मैनबत्ती र बिजुली बाल्ने गरिए पनि पाला प्रयोग घटेको छैन । तिहारमा बालिने बिजुली बत्तीले उज्यालो दिए पनि मौलिकता भने गुम्दै गएको बताउँछन् संस्कृतिविद् ग्वंगः ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले पालाको बत्तीलाई पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशसँग तुलना गरेका छन् । पाला माटोले बन्छ, त्यसले पृथ्वीको प्रतिनिधित्व गर्छ । दीप दहनमा आउने अणुबाट जल उत्पन्न हुन्छ । तेजको प्रतिनिधित्व पालामा बलेको दीपले गर्छ । वायु भनेको दीप बल्न लाग्दा आउने हावा हो । आकाश भनेको दीपमाथिको भाग हो ।
घटेको छैन व्यवसाय
मैनबत्ती र बिजुली बत्तीको प्रयोग बढे पनि पाला व्यवसाय नघटेको बताउँछन् व्यवसायी । पोट्री स्क्वायरमा पाला बेचिरहेकी विनता प्रजापति विगतमा भन्दा पाला व्यापार नघटेको बताउँछिन् । उनले भनिन्, ‘बिजुली बत्तीको प्रयोगले दियो र पालाको प्रयोगमा खासै असर छैन । लाखौं रुपैयाँका पाला बिक्री हुन्छ ।’
माटाका पाला अर्डरअनुसार बनाइने र तत्काल बजारका पठाइहाल्ने बताउँछन् अर्का व्यवसायी विनोदकुमार प्रजापति । थोक विक्रेताबाट पालाका अर्डर आउँछ भने कोही उपभोक्ता आफैं किन्न आउने व्यवसायी बताउँछन् । यस्तै राजधानीबाहिरबाट पनि अर्डर आउने गरेको छ । माटाका पाला प्रयोग गर्ने र बिजुली बत्ती प्रयोग गर्ने समुदाय फरक फरक भएका कारण पनि पाला उपभोगमा ह्रास नआएको व्यवसायीको अनुमान छ ।
तिहारमा झिलिमिली बनाउन मैनबत्ती र बिजुली बाल्ने गरिए पनि पाला प्रयोग घटेको छैन ।
वैज्ञानिक कारण
पहिलेपहिले घर साना हुन्थे । त्यस्ता घरमा साना र थोरैमात्र झ्याल राखिन्थे । आगो घरको सुरक्षित स्थानमा राखी अँध्यारो हटाइन्थ्यो । अहिले बिजुली बत्तीको प्रयोग बढेपछि टुकी बत्ती र पाला बाल्न छाडिएको छ । तर पूजाकोठामा दियो बाल्ने गरिन्छ । संस्कृतिविद् ग्वंगःका अनुसार पालाबाट निस्किएको तेजले वातावरणमा रहको नकारात्मक तत्त्व हटाउँछ । यसै कारण पनि पूजापाठमा दीप प्रज्वलन गरिन्छ ।
संस्कृतिविद् ग्वंगःले पालाको बत्ती पञ्चतत्त्व पृथ्वी, जल, तेज, वायु र आकाशको प्रतीक हो । पाला माटोले बन्छ, त्यसले पृथ्वीको प्रतिनिधित्व गर्छ । दीप दहनमा आउने अणुबाट जल उत्पन्न हुन्छ । तेजको प्रतिनिधित्व पालामा बलेको दीपले गर्छ । आकाश भनेको दीपमाथिको भाग हो । वायु भनेको दीप बल्न लाग्दा आउने हावा हो ।
तस्विर- सन्ध्या श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४