जनकपुरधाम-बुधबार हुने दिपावलीका लागि जनकपुरमा चहलपहल बढेको छ । दिपावलीमा लक्ष्मी पूजागर्न उद्योगी व्यवसायीहरु आ–आफ्ना पसल सरसफाइमा जुटेका छन् भने सर्वसाधारण किनमेलमा व्यस्त देखिएका छन् ।
दिपावलीमा पसल तथा घरआँगन सजाउने सामग्री किनमेल गर्न बजारमा सर्वसाधारणको भिड देखिएको छ । लक्ष्मी पूजाको अवसरमा जानकी मन्दिर प्राङ्गणमा लाग्ने बजारमा सर्वसाधारणको उल्लेख्य भिड देखिएको छ ।
पूजाका लागि प्रसाद, सजावटका लागि प्रयोग हुने रंगीचङ्गी कागज, भगवानका फोटोलगायतका सामग्री किनमेल गर्नेहरु बजारमा व्यस्त देखिएका छन् ।
यसैगरी यहाँका व्यापारीहरु आ–आफ्ना पसल सरसफाई गरी सरसजावट गर्न व्यस्त देखिएका छन् । दिपावलीमा प्रत्येक व्यापारीहरुले आफ्नो पसल अगाडी केराको बोट अनिवार्य रुपले लगाउने गरेकोले केरा बोटको पनि बिक्री बढेको छ ।
यस वर्ष दिपावलीको किनमेलमा चर्को मूल्यवृद्धिको असर देखिएको उपभोक्ताहरु बताउँछन् । मूल्यवृद्धिका कारण कठिनाई देखिएपनि वर्षमा एकपटक आउने दिपावली उल्लासपूर्वक मनाउने तयारी गरेको बताउँछन् स्थानीय संजय गुप्ता । स्थानीय प्रशासनले बजार अनुगमन नगरेकोले बजार मूल्य अनियन्त्रित रहेको उनको भनाई छ ।
यस क्षेत्रकै चर्चित जनकपुरको दिपवाली हेर्न विदेशी पर्यटकहरु समेत पुग्ने गरेका छन् । अन्य वर्षझैँ यस पटकपनि दिपावलीलाई लक्षित गरेर विदेशी पर्यटकहरु जनकपुर पुगेको होटल व्यवसायीहरुले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४