पोखरा- चितवन राइनोजका कप्तान पारस खड्काको अर्धसतकको मद्दतले चितवनले शरद भेषवाकरको पोखरा पल्टनलाई जितका लागि १ सय ६१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा मात्र पाँच विकेट गुमाउदै १ सय ६० रन बनाएको थियो ।
चितवनका लागि पारसले ५१ रनको अर्धसतकिय पारी खेलेका थिए । उनले ३७ बल खेल्दै ९ चौका प्रहार गरेर ५१ रन जोडेका थिए । दोस्रो ओभरमा टिमको ९ रन हुदा हरिशंकर साहलाई गुमाएको चितवनका लागि पारसले अनिल साहसँग ७६ रनको साझेदारी गरेका थिए ।
उनी रसिद खानको ओभरमा रन आउट भएका थिए । त्यस्तै विदेशी खेलाडी सन्नी पटेलले ४३ नर जोडे । उनले २१ बल खेल्दै तीन चौका र चार छक्काको मद्दतमा ४३ रन जोडेका थिए । चितवनका अनिल कुमार साहले ३७ रन जोड्दा आरिफ सेखले १४ रन जाडे ।
पोखराका लागि कृष्ण कार्कीले दुई विकेट लिदाँ, नाभिद र ललित राजवंशीले समान एक एक विकेट लिए । पोखराले केही बेरमा जवाफी ब्याटिङ थाल्ने छ । विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल पाउने छन् । मोस्ट भ्यालुएबल प्लेयरलाई १ लाख र उदयीमान खेलाडीलाई ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४