पाँच पटकका वर्ष खेलाडी लियोनल मेस्सी विश्वका उत्कृष्ट तथा चर्चित खेलाडी हुन् । अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले हाल आफ्नो राष्ट्रिय टोलीबाट बिश्राम लिएका छन् । उनकीबारे १० रोचक तथ्य तपाईंलाई जानकारी दिँदैछौं ।
१. चे ग्वेभाराको गाउँमा जन्म
मेस्सीको जन्म अर्जेन्टिनास्थित क्रान्तिनायक चे ग्वेभाराको गाउँ रोसोरियोमा भएको हो । बुवा जर्ज मेस्सी एक कारखानामा मजदूरी गर्दथे । जर्जका ४ छोराछोरीमध्ये मेस्सी तेस्रो सन्तान हुन् ।
२. बाल्यकालमै अचम्मको प्रतिभा
मेस्सीले ५ वर्षकै उमेरदेखि फूटबल खेल्न थाले । उनी स्थानीय क्लब ग्रान्डोलीमा अनुबन्धित पनि भए । ९ वर्षको हुँदा मेस्सी फूटबलमा यति निपूर्ण भइसकेका थिए कि बल खुट्टामा परेपछि सधैं उनकै कब्जा रहन्थ्यो । उनको खेल हेर्नेहरू भन्थे, ‘यो केटोले म्याराडोनालाई पनि पछि पार्छ ।’ जबकि त्यतिबेला अर्जेन्टिनामा विश्वकप जिताउने म्याराडोनालाई भगवानसरह मानिन्थ्यो ।
३. ११ वर्षकै उमेरमा भयानक बिमारी
११ वर्षको उमेरमा मेस्सीमा ग्रोथ हर्मोनको कमी देखियो । यो यस्तो समस्या थियो कि त्यसको समयमै उपचार गर्न नसके उनको शारीरिक वृद्धि नै ठप्प हुन्थ्यो । मेस्सी दैनिक आफ्नो तिघ्रामा हर्मोनको इन्जेक्सन लगाउँथे । यो क्रम ३ वर्षसम्म जारी रह्यो ।
४. उपचारका लागि बार्सिलोनाको यात्रा
मेस्सीको उपचारका लागि मासिक डेढ हजार डलर खर्च लाग्थ्यो । बुवा जर्ज एक साधारण मजदूर भएकाले उनको उपचारमा निकै समस्या आयो । त्यति नै बेला जर्जका साथीले बार्सिलोना क्लबको बारेमा बताए । बार्सिलोनाले उपचार गरिदिने सुनेपछि उनी परिवारसहित स्पेन प्रस्थान गरे ।
बार्सिलोना मेस्सीको उपचार गर्न तयार भयो । उपचार भइसकेपछि मेस्सीका सामु दुई विकल्प थिए– अर्जेन्टिना फर्किने कि स्पेनमै रहने । मेस्सीले स्पेन नै बस्ने निर्णय लिए । ‘मेरा लागि यो क्लबले यति धेरै र्गयो, अब म क्लबमै रहन्छु र यसको गुन तिर्छु ।’ सोही कारण हो, कैयन आकर्षक अफरहरूलाई लत्याउँदै मेस्सी अझैसम्म बार्सिलोनामै छन् ।
५. ‘बार्सिलोना बी’बाट व्यावसायिक फूटबलमा
मेस्सीले बार्सिलोना बी टिमबाट आफ्नो व्यावसायिक फूटबल यात्रा शुरु गरे । उनको उचाइ अन्य खेलाडीभन्दा कम थियो, जसका कारण उनले ड्रिबलिङ र कलात्मक खेल शैलीमा आफूलाई निपूर्ण बनाउँदै लगे ।
६. पहिलो अनुबन्धन न्यापकिनमा
मेस्सीको पहिलो अनुबन्धन न्यापकिन पेपरमा लेखियो । एफसी बार्सिलोनाका चिफ चाल्र्स मेस्सीसँग यति धेरै प्रभावित भए कि अनुबन्धनका लागि प्रोफेसनल पेपर कुर्ने धैर्य पनि भएन । उनले आफ्नो अगाडि रहेको न्याप्किन पेपर झिके अनि त्यहीँ अनुबन्धनको बेहोरा लेखे । त्यसलाई पछि मात्र प्रोफेसनल कपीमा उतारियो ।
७. दुई देशको नागरिकता
मेस्सीसँग दुई देशको नागरिकता छ । अर्जेन्टिनाका नागरिक मेस्सीलाई स्पेनले पनि नागरिकता दिएको छ । २००५ मा स्पेनको नागरिकता पाएका मेस्सीसँग दुवै देशको पासपोर्ट पनि छ ।
८. स्पेनका लागि खेल्ने अफर अस्वीकार
बार्सिलोनामा रहेर आफ्नो प्रतिभा तिखारेका मेस्सीले स्पेनले आफ्नो देशका तर्फबाट खेल्न अफर गरेको थियो । तर उनले जन्मभूमि अर्जेन्टिनालाई नछाड्ने निर्णय गरे । सोही कारण मेस्सीले अर्जेन्टिनाका लागि खेले ।
९. दुई सन्तान भएपछि बाल्यकालकी प्रेमिकासँग विवाह
मेस्सीको विवाह एन्टोनेला रोकुजोसँग भएको छ । अर्जेन्टिनाकी पूर्वमोडल रोकुजो मेस्सीकी बाल्यकालकी प्रेमिका हुन् । उनीहरूका २ छोरा थियागो र माटियोको जन्म भइसकेपछि विवाह गरेका हुन् । विवाहपछि जन्मिएका कान्छा छोरा सिरो मेस्सी हुन् ।
१०. संन्यास अनि फिर्ता
पाँचपटक बालोन डी’ओर, ५ पटक युरोपीयन गोल्डेन बुटसहित क्लब फूटबलमा अधिकांश रेकर्ड तोडिसकेका मेस्सीका लागि देशका तर्फबाट ठूलो उपाधि नजित्नु सधैं खड्किने गरेको छ । मेस्सीले त्यसका लागि अधिकतम पहल पनि गरे ।
उनको टीम २०१४ को विश्वकप तथा २०१५ र २०१६ को कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पराजित भयो । त्यसपछि मेस्सी यति दुःखी भए कि उनले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यासको घोषणा गरे ।
उनको संन्यासबाट विश्वभरका फूटबलप्रेमी दुःखी भए । अर्जेन्टिनाका राष्ट्रपतिसमेतको आग्रह र करोडौं समर्थकको चाहनामा मेस्सी अन्तर्राष्ट्रिय फूटबलमा फर्किएका हुन् । तर, २०१८ को रुस विश्वकप पछि पुनः मेस्सी बिश्राममा छन् । उनी राष्ट्रिय टोलीमा फर्किने वा नफर्किने अहिले सम्म कुनै टुङगो लागेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४