काठमाडौं- जोली बेलारुसबाट सात महिनाअघि नेपाल आएकी हुन् । गत जेठमा आएकी जोली मौसमका कारण बिरामी परिन् । उनी बेलारुसमा रहँदा त्यहाँको माइनस १५ डिग्रीभन्दा कम थियो । नेपालमा त्यतिबेला ३५ डिग्री थियो । अहिले जोलीले बिस्तारै नेपालको मौसममा आफूलाई अनुकूलन मात्र गरेकी छैनन्, जटिल घटना अनुसन्धानमा समेत खटिन थालेकी छन् ।
नेपाल आएपछि उनको पहिलो ड्युटी पर्यो हाइप्रोफाइल केशव झा हत्याको अनुसन्धान । जोलीले पूर्वराजदूत झा हत्याका सम्बन्धमा केही संकेत पहिचान गरिसकेकी छन् । उनले पहिचान गरेको ट्र्याक र संकेतका आधारमा प्रहरीले साँघुरो घेरामा आधारित रहेर अनुसन्धान तीव्र पारेको छ ।
जोली अर्थात् ब्लड हाउन्ड प्रजातिको उक्त कुकुर अभियुक्त पत्ता लगाउन संसारमा एक नम्बर मानिन्छ । अमेरिकाको संघीय अदालतले पनि यो प्रजातिको कुकुरले संकेत गरेको प्रमाण स्वीकार गर्छ । नेपालमा भने कुनै कुकुरले संकेत गरेकै आधारमा दोषी ठहर गर्ने प्रावधान बनिसकेको छैन । त्यसले झाका हत्यारा पत्ता लगाउन ढिलाइ भइरहेको छ ।
ब्लड हाउन्ड प्रजातिको कुकुरले गरेको संकेतलाई अमेरकी अदालतले स्वीकार गर्नुको कारण उक्त जातको कुकुरमा भएको अद्भुत क्षमता हो । यो प्रजातिको कुकुरको सुँघ्ने शक्ति अन्य कुकुरको तुलनामा बढी हुन्छ । अनुसन्धानमा अब्बल मानिएका जर्मन सेफर्ड ल्याब रोडर, गोल्डेन रिट्रिभर प्रजातिका कुकुरको स्न्यापिङ (सुँघ्ने क्षमता) २२५ मिलियन हुन्छ भने ब्लड हाउन्ड प्रजातिका कुकुरको ३०० मिलियन हुन्छ । मानिसको सुँघ्ने सक्ने क्षमता ५ मिलियन मात्र हुन्छ ।
जर्मन सेर्फड स्न्यापिङ तथा ट्र्याक गर्नमा अब्बल मानिन्छ । यस्तै विस्फोटक पदार्थ पत्ता लगाउन ल्याब रोडर संसारभर प्रख्यात छ । गोल्डेन रिट्रभर भने लागूऔषधको पहिचान गर्ने क्षमता भएको कुकुर हो । ब्लड हाउन्ड जातको कुकुरले अन्य कुकुरभन्दा चार दिन ढिलोसम्मका घटना सही पहिचान गर्न सक्छ । अन्य कुकुरले ४८ घन्टासम्मका घटनालाई मात्र पहिचान गर्न सक्छन् ।
नेपाल प्रहरीले अनुसन्धानमा कुकुरलाई प्रयोग गर्न थालेको ५० वर्ष नाघेको छ । यसै सन्दर्भमा नेपाल प्रहरीको कुकुर विद्यालयले मंगलबार स्वर्ण जयन्ती मनाउँदैछ । नेपाल प्रहरीको उक्त विद्यालयमा विशेष अनुसन्धान गर्न सक्ने विभिन्न ८ प्रजातिका ८६ वटा कुकुर छन् ।
नेपाल प्रहरीले पहिलो पटक २०२६ सालमा अनुसन्धानमा सहजीकरणका लागि तालिम प्राप्त कुकुर प्रयोग गर्न थालेको हो । प्रहरीले जर्मन सेफर्ड, ल्याबरोडर, गोल्डेन रिट्रभर, बिगल, बेल्जियन सेफर्ड, डच सेफर्ड, कर्कर स्पानियल तथा ब्लड हाउन्ड जातका कुकुरलाई विभिन्न जटिल अनुसन्धानमा प्रयोग गर्दै आएको छ ।
जर्मन सेफर्ड सुँघ्न तथा ट्र्याक गर्नमा अब्बल मानिन्छ । विस्फोटक पदार्थ पत्ता लगाउन ल्याब रोडर संसारभर प्रख्यात छ । गोल्डेन रिट्रभर लागूऔषधको पहिचान गर्ने क्षमता भएको कुकुर हो । ब्लड हाउन्ड जातको कुकुरले अन्य कुकुरभन्दा चार दिन ढिलोसम्मका घटना पहिचान गर्न सक्छ ।
कुकुरले अनुसन्धान गरेका केही घटना
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन पर्यवेक्षणमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको संस्था कार्टर सेन्टर पनि खटिएको थियो । निर्वाचन पर्यवेक्षण गर्न कार्टन आफैं नेपाल आएका थिए । उनको सुरक्षार्थ आएको टोलीले एके–४७ राइपल ल्याएको सूचना कुकुरले दियो । कार्टरलाई सुरक्षार्थ खटिएको कुकुरले अगाडि बढ्न नदिएपछि प्रहरी उनको गाडी खानतलासी गर्न बाध्य भयो र फेला पर्यो एके–४७ राइफल तथा त्यसमा लाग्ने गोली ।
गत भदौ ८ गते पोखरा लेखनाथ महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीमा १० वर्षीया बालिका श्रेया सुनारको हत्या भयो । सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौड्याललाई हत्याको १० घन्टामै प्रहरीले कुकुरको सहयोगमा पक्राउ गर्न सफल भएको थियो ।
गत जेठ ७ गते कैलाली धनगढी उपमहानगरपालिका–८ मा ७५ वर्षीय बद्रीप्रसाद जोशी र पत्नी कुन्तादेवीको घरमै फलामे रड प्रहार गरी हत्या भएको थियो । हत्याको अनुसन्धान जटिल बनेपछि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको कुकुर शाखाले भुन्टी नामक जर्मन सेफर्ड परिचालन गरयो । भुन्टीले तीन किलोमिटर ५०० मिटर टाढा घुयाँघाट पुगेर एक महिला तथा दुई पुरुषको पहिचान गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्यो । भुन्टीकै सहयोगमा प्रहरीले हत्यामा प्रयोग भएका रड र खुँडा बरामद गरेको थियो ।
नेपाल प्रहरीको कुकुर शाखाकी इन्चार्जसमेत रहेकी प्रहरी उपरीक्षक डा. देउती गुरुङका अनुसार ९५ प्रतिशतभन्दा बढी जटिल अनुसन्धानमा नेपाल प्रहरीका तालिम प्राप्त कुकुर परिचालन हुँदै आएका छन् ।
कसरी गर्छ कुकुरले अनुसन्धान ?
प्रत्येक एक मिनेटमा मानिसको शरीरको छालामा रहेका ४० हजार सूक्ष्म कोष मर्छन् । ती मरेका कोष ‘डेड स्याट्स’ जमिनमा खस्छन् । जमिनमा खसेका तिनै कोषका आधारमा कुकुरले अभियुक्तको पिछा गर्छ । अनुसन्धानका लागि घटना भएको स्थान सुरक्षित रहेमा कुकुरले अभियुक्तको सही पहिचान गर्न सक्छ । चर्को घाम, ठूलो पानी वा हावाहुरीले घटना प्रमाण नष्ट गर्न सक्छ ।
विस्फोटक पदार्थ पहिचान
विस्फोटक पदार्थ पहिचानमा ल्याब रोडर, बेल्जियन सेफर्ड र डच सेफर्ड प्रजातिका कुकुर अब्बल मानिन्छन् । भिभिआपी सहभागी हुने स्थानमा यी प्रजातिका कुकुर परिचालन गरेपछि मात्र सुरक्षाको ग्यारेन्टी गरिन्छ । नेपालमा हालै सम्पन्न बिम्स्टेक सम्मेलन र भिभिआपी रहने स्थानको सुरक्षामा यिनै कुकुर परिचालन गरिएको थियो ।
लागूऔषध पहिचान
नेपालमा पछिल्लो समय लागूऔषध प्रयोग र कारोबार वृद्धि भएको तथ्यांक छ । लागूऔषध कारोबारीले तस्करीमा नयाँनयाँ प्रविधि प्रयोग गरिरहेका बेला त्यसको नियन्त्रणका लागि प्रहरी अनुसन्धान मात्र पर्याप्त छैन । त्यसैले यस्ता घटनामा पनि कुकुर परिचालन प्रभावकारी बन्दै गएको छ । लागूऔषधको पहिचान गर्न गोल्डेन रिट्रभर प्रजातिका कुकुर अब्बल मानिन्छ । नेपाल प्रहरीसँग यो प्रजातिका तालिम प्राप्त ८ वटा कुकुर छन् । यी कुकुर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र लागूऔषध ओसारपसार हुने मुख्य नाकामा परिचालित छन् ।
गत असोज १० गते धादिङबाट पोखरा जाँदै गरेको ग १ ख २६७६ नम्बरको मिनीबसबाट सीमा नामक कुकुरको सहयोगमा प्रहरीले ३ केजी गाँजा बरामद गरेको थियो । उक्त कुकुरकै सहयोगमा पोखरा सिद्धार्थचोकका २० वर्षीय पारस बस्याल पक्राउ परेका थिए ।
खोजी तथा उद्धार
२०७४ असोज १८ गते बाराका पत्रकार वीरेन्द्र शाहको अज्ञात समूहले अपहरण गर्यो । घटना अनुसन्धानमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरीको विज्ञ टोली खटियो । एक महिनासम्म वीरेन्द्र फेला नपरेपछि प्रहरी कुकुर विद्यालयबाट ब्ल्याकी नाको कुकुर परिचालन गरियो । ब्ल्याकीले बाराको भैवानाकामा पर्ने जंगलमा गाडिएको अवस्थामा पत्रकार शाहको शव फेला पार्यो ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पमा परिचालन भएका कुकुरले भौतिक संरचनामा पुरिएका मानिसको सकुशल उद्धार गर्न र मृतकको खोजीमा सहयोग गरेको थियो ।
२०७० साल माघ १० गते रसुवाको चिलिमेको ब्रान्चेस्थित सान्जेल जलविद्युत् आयोजनाको सर्भे गर्ने क्रममा पहिरोल पुरिएर पाँचजना बेपत्ता भए । प्रहरीले चारजनाको सकुशल उद्धार गर्यो । तर इन्जिनियर चिरव घिमिरे फेला परेनन् । घिमिरेको खोजीका लागि नेपाल प्रहरीको कुकुर विद्यालयबाट रेक्यु र खुस्बु नामका दुई जर्मन सेफर्ड परिचालन गरियो । यी कुकुरले पहिचान गरेको स्थानमा खोजी गर्दा ४ दिनपछि घिमिरेको शव फेला पर्यो ।
प्रमाण सुरक्षित छ भने कुकुरले वर्षौपछाडिका घटनासमेत पहिचान गर्न सक्ने नेपाल प्रहरीको कुकुर शाखाकी इन्चार्ज प्रहरी उपरीक्षक डा. देउती गुरुङ बताउँछिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४