पाँचथर– गत ३ असारको ठूलो वर्षापछि आएको बाढीपहिरोले हेवाखोलामा रहेको पुल बगाएपछि पाँचथरमा खाद्यान्न अभाव देखिन थालेको छ। बगाएको पुलका ठाउँमा बेलीब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ अभाव भएको हो।
बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएबगाएसँगै अहिलेसम्म बेलीब्रिज निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थ अभाव भएको हो।
असार ३ को बाढीपहिरोपछि हेवाखोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यास अभाव भएको हो।
हाल ग्यास र पेट्रोलियम पदार्थ अभाव भएपछि सदरमुकाम फुङलिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ। ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङलिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन्। पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएका प्रभावित बनेका हुन्।
ग्यास पाउन छाडेपछि खाना पकाउन विकल्पमा दाउरा बाल्न थालिएको छ। चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ। सबैतिर दाउरा बाल्ने ठाउँ पनि नहुने हुँदा भाडावाल नै बढी प्रभावित बनेका हुन्। ग्यास अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको भाडावाल वसन्त लिम्बूले बताए।
ग्यास अभावमा फुङ्लिङ बजारका होटल व्यवसायी पनि प्रभावित बनेका छन्। ग्यास पाउन छाडेपछि बजारका कतिपय होटलले आफ्ना सेवा बन्द गरेका छन्। होटल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले हेवा खोलामा रहेको झोलुंगे पुल र बाढीले मोटरेबल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइन (घिर्नी)मार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएका बताइएको छ।
मेची राजमार्ग अवरुद्ध बनेसँगै यहाँबाट खाली सिलिन्डर पठाउन र उताबाट आयात गर्न असम्भव भएपछि ग्याससहित पेट्रोलियम पदार्थको सबैभन्दा बढी अभाव भएको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले बताए। अध्यक्ष थापाका अनुसार राजमार्ग अवरुद्ध भएयता हेवा खोलामा डाइभर्सनमार्फत सडक खुलेको मौकामा ४७० जति ग्यास सिलिन्डर भित्रिए पनि त्यो अपर्याप्त भएको छ।
ग्यास आपूर्ति गर्न राजमार्ग नखुलेसम्म कुनै विकल्प नरहेको उनले बताए। खाद्यान्नलगायत सामग्रीका लागि भने सामान्य अवस्था रहेको उनको भनाइ छ। डाइभर्सनमार्फत नै बीचमा केही खाद्यान्न सामग्री आयात गर्न सम्भव भएपछि ग्यास अभाव स्थिति नरहेको उनले बताए।
हाल हेवा खोलाको निर्माणाधीन अवस्थामा रहेको बेलीब्रिजको काम सम्पन्न भएर राजमार्ग खुल्नेबित्तिकै ग्यासलगायत सबै वस्तु आपूर्ति हुने र अभाव अन्त्य हुने थापाले जानकारी दिए।
हेवा खोलाको मोटरेबल पुल र सोही खोलामा रहेको तमोर करिडोरको पुल बाढीले बगाएपछि पाँचथरको हिलिहाङ र याङ्बरक गाउँपालिकासहित सिंगो ताप्लेजुङ प्रभावित बनेको हो। मेची राजमार्ग खुलाउन सुरु गरिएको बेलीब्रिजको काम झन्डै महिना दिन बित्न लाग्दासमेत सम्पन्न नहुँदा यातायात सुविधाका कारण संकटपूर्ण स्थिति सिर्जना भएको बताइएको छ।
हेवा खोलामा ह्युम पाइप लगाएर डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि पानीको बहाव र बाढीको क्रम नरोकिएपछि सडक खुलाएको केही घन्टामै अवरुद्ध हुने गरेको छ। ग्यास, खाद्यान्नलगायत आवश्यक उपभोग्य वस्तु झापाको बिर्तामोड हुँदै आपूर्ति हुने गरेको छ।
त्यस्तै, राजमार्ग अवरुद्धका कारण यहाँबाट निर्यातजन्य वस्तु पनि निर्यात भएका छैनन्। पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा यातायात सञ्चालन गर्नसमेत समस्या भएको छ।–रासस