काठमाडौं– विभिन्न योजना, आयोजना निर्माण सम्पन्न गरिसक्दा पनि सरकारले सम्झौताअनुसारको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी विरोधस्वरुप सडकमा निस्किएका छन्।
सरकारले टेन्डर आह्वान गर्ने र ठेक्का दिने तर समयमै रकम भुक्तानी नगर्दा व्यवसायमा धराशयी अवस्थामा पुगेको दाबीसहित निर्माण व्यवसायीले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।
निर्माण व्यवसायीले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन्। काम गरेको रकम माग्दा सरकारले सुनुवाइ नगरेपछि बाध्य भएर सडकमा आउनुपरेको महासंघ अध्यक्ष रवि सिंहले बताए। उनले भने, ‘काम गरेको बिल पेस गर्दा पनि रोकियो। रकम नभएको ४ खर्बको आयोजना किन टेन्डर गराइयो? स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो?’
असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको, ठेक्का म्याद नथपेको विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन्।
निर्माण व्यवसायीले महासंघको नेतृत्वमा विभिन्न मागसहितका प्लेकार्ड बोकेर माइतीघर मण्डलामा धर्ना दिएका छन्। निर्माण व्यवसायीले सरकारबाट निर्माण सम्पन्न विभिन्न आयोजना, परियोजनाको १५ अर्ब बढी भुक्तानी लिन बाँकी रहेको महासंघले केही दिनअघि विवरण निकालेको थियो।