जनकपुरधाम– तिहारको पहिलो दिन सोमबार तराईका जिल्लाहरुमा धनतेरस मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका अर्थात काग तिहारको दिन धनतेरस मनाउने गरिन्छ । यस दिनलाई मुलतः आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्वको रुपमा लिइन्छ ।
धनतेरसका दिन तराई मधेशमा नयाँ भाडाकुडा, गरगहना तथा गाडी खरिद गर्ने परम्परा रहेको छ । यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न वर्गका परिवारले आफ्नो आवश्यक्ता र सामथ्र्य अनुसार धनतेरसको दिन नयाँ कुरा घरमा भित्र्याउने गर्दछन् । धनतेरसको दिन नयाँ समान खरिद गरे वर्षभरि धनको समस्या नहुने जनविश्वास रहेको छ ।
धनतेरसलाई दिपावली पहिलो दिनको रुपमा समेत लिने गरिएको छ । धनतेरसका लागि उपभोक्ता र व्यापारीहरु वर्षभर कुरेर बसेका हुन्छन् । धनतेरसमा उपभोक्ताहरुले नयाँ समान खरिद गर्ने परम्परा अनुसार व्यापार व्यवसाय राम्रो हुने आश व्यापारीहरुको हुन्छ । विशेषतः गरगहना, भाँडाकुडा र सवारी साधन बिक्री गर्ने शोरुमका व्यवसायीहरु धनतेरसलाई विशेष महत्व दिने गरेका छन् । धनतेरसमा बिक्रिगर्न व्यापारीहरु केहिदिन अगाडी देखि नै सामानहरु भण्डार गरेर राखेका हुन्छन् ।
तर यस वर्ष जनकपुरमा धनतेरस खल्लो देखिएको छ । अन्य वर्षहरु धनतेरसमा बिहानै देखि किनमेल गर्नेको चहलपहल देखिने गरिएको भएपनि यस वर्ष बजार सुनसान देखिएको छ ।
पछिल्ला वर्षहरुमा बिहान ८ बजेदेखि किनमेल गर्न उपभोक्ताहरुको चहलपहल देखिएपनि यस पटक जनकपुर बजारमा खासै उत्साह देखिएको छैन् ।
जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहले पछिल्ला वर्षहरुको तुलनामा यस वर्षको धनतेरस खल्लो देखिएको बताए । ‘धनतेरसमा विशेषतः गरगहना र भाँडाकुडा बिक्री हुने गर्दछ,’ साहले भने,‘तर यी सामान पाउने बजारसम्म पुग्न बाटो नै छैन् । खरिदारहरु पसलसम्म कसरी पुग्ने ।’
सडक विस्तारका लागि घरटहराहरु भत्काइएपनि समयमा निर्माण कार्य पुरा नहुँदा दशैंका साथै यस वर्षको दिपावलीपनि खल्लो हुने धनतेरसले संकेत गरि सकेको उनको भनाइ छ । समान्य दिनझैँ धनतेरसमा पनि उपभोक्ताहरु देखिएको वरिष्ठ उपाध्यक्ष साहले बताए । दशैं, तिहार तथा छठजस्ता महत्वपूर्ण पर्वहरु नजिक आइसकेपनि निर्माण कार्यले तिव्रता नपाउँदा व्यापारी र उपभोक्ता दुबै मार्कामा परेको साहले बताए ।
जनकपुरधाम–४ स्थित सुनचाँदी गरगहनाको व्यवसाय गर्दै आइरहेका रविकुमार साहले पनि बजार भिडभाड न्यून रहेको बताए । जनकपुरको मुख्य बजारका बाटोघाटो निर्माण हुन नसकेपछि उपभोक्ताहरु आउन छोडेको उनको भनाई थियो ।
धनुषा च्याम्बर अफ कमर्सका अध्यक्ष विजयकुमार साहले समयमा बजार क्षेत्रको बाटो निमार्ण नहुनुका साथै महगीले समेत यस वर्षको धनतेरस प्रभावित गरेको धारणा राखे । चरम महगीका कारण उपभोक्ताहरुको क्रयशक्ति हस भएकोले धनतेरसमा खासै उत्साह नदेखिएको च्याम्बर अफ कमर्सका अध्यक्ष साहको तर्क छ । सरकारले सर–सामानमा गरेको भन्सारवृद्धिका कारण महगाई बढेपछि यहाँका उपभोक्ताहरु सीमा क्षेत्रको बजारतर्फ आकर्षित हुनेगरेकोले पनि उत्साहमा कमी देखिएको उनको भनाइ छ । मूल्यवृद्धिका कारण जनकपुरको बजारले भारतीय बजारसँग प्रतिष्पर्धा गर्न कठिनाइ भएको उनले बताए ।
विगतका वर्षहरुमा धनतेरसको दिनमात्र १० देखि १५ करोडसम्मको आर्थिक कारोबार जनकपुरमा हुने गरेको एक अनुमान छ । तर यस वर्ष व्यापारमा व्यापक हस आउने यहाँका व्यापारीहरुले शंका व्यक्त गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४