मंगलबार, वैशाख २९, २०८३

४४.५ मेगावाटको सानी भेरी जलविद्युतको पीपीए

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाट जडित क्षमताको सानी भेरी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ।

National life

आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच बुधबार पीपीएमा हस्ताक्षर भएको हो। आयोजनाले उत्पादन गरेको विद्युत हिउँदयाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ।

आयोजनाका तर्फबाट एक्सपर्ट ग्रुपका अध्यक्ष जयराम अर्याल र प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गरेका छन्। एक्सपर्ट ग्रुपमा अष्ट्रेलियामा बसेर शैक्षिक क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरूको लगानी रहेको छ।

रुकुम पूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानी भेरी खोलामा निर्माण हुनेछ। १४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटर/प्रतिसेकेण्ड रहेको छ। आयोजनामा ४ हजार ३०० मिटर सुरुङमार्ग र ३१० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ।

आयोजनाले आयोजनाको विद्युतगृहदेखि प्राधिकरणको बाफिकोट सवस्टेशनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ। त्यस्तै १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ।

यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको एक्सपर्ट हाइड्रोका अध्यक्षअर्यालले बताए। आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८४ पुस रहेको छ। आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुनेछ।

 

प्रकाशित: Jul 13, 2023| 19:21 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्