शुक्रबार, वैशाख २१, २०८१

विचार

खाणलाई निलम्बन गर्न किन चाहँदैनन् देउवा?

कांग्रेसमा योगदानको कदर वा अवसर प्रदान नेताको स्वार्थ र लाभहानिको आधारमा हुन्छ। आन्तरिक राजनीतिमा जितहार पनि धेरै हदसम्म प्रत्येक नेता-कार्यकर्ताको स्वार्थसँग जोडिएको हुन्छ।
 |  बिहीबार, असार २८, २०८०

भानु बोखिम

भानु बोखिम

बिहीबार, असार २८, २०८०

शेरबहादुर देउवा यो देशको एउटा पुरानो लोकतान्त्रिक दलको सभापति हुन्। उनीसँग लोकतन्त्रको लागि लडेको लामो इतिहास पनि छ। लोकतन्त्रको महत्व र आवश्यकता औंल्याइरहन्छन् पनि बेलाबेला। तरपनि उनी लोकतान्त्रिक आचरण भएका नेता हैनन् भन्ने पहिले नै पुष्टि भएको छ। र, उनलाई पनि थाहा छ कि यो देशको राजनीतिमा पूर्ण लोकतान्त्रिक व्यवहारले राजनीतिक सफलता मिल्दैन।

triton college

राजनीतिको प्रमुख आधार विचार, सिद्धान्त र दर्शन हो। नेपालको राजनीतिमा भने यो कुरा लागु हुँदैन। यहाँको राजनीतिमा सफलताको प्रमुख आधार सिद्धान्त, दर्शन र विचार केही हैन। यी कुरा सार्वजनिक खपतका लागि बोलिने मात्र हुन्। व्यवहारमा त सफलताको सूत्र अर्कै छ। त्यो भनेको गुटवाद हो। पैसा र शक्ति हो। त्यसैले गुटवादलाई बलियो बनाउनु बाध्यता हो। जसले एक नेतालाई राजनीति गर्न आवश्यक अन्य तत्वको जोहो पनि गर्दै जान्छन्।

गुट सञ्चालन गर्दा नेताको आफ्नै खालको नाफा-नोक्सान हुन्छ। नेतालाई गुट चलाउनुको राम्रो पक्ष भनेको यसले सधैं समर्थन दिलाउँछ। इतर पक्षसँग भिड्ने दस्ता सधैं तयार रहन्छ। गुटका सदस्यहरु आफ्नो नेताले गरेका कामको हमेसा बचाउ गर्छन्। तर यससँग सीमा पनि जोडिएको हुन्छ। गुटको छलफल र सल्लाहमा आलोचनात्मक चेत हुँदैन। यसमा हनुमान गिरीमात्र चल्छ। यो आफैंमा लोकतान्त्रिक विधि र प्रकृयाको खिलाफ हो। गुटभित्र चल्ने भनेको स्वार्थमात्र हो। स्वार्थ सिद्धान्त र दर्शनको आधारमा हुँदैन। भोलिको दिनमा प्राप्त हुने लाभहानीमा गुटतन्त्र अगाडि बढिरहेको हुन्छ। स्वार्थपूर्तिको सम्भावना नहुँदामात्र गुट बदलिने हो। त्यस अर्थमा शेरबहादुर सिद्धान्तनिष्ठ र लोकतान्त्रिक चरित्रको व्यक्ति भएर उनलाई साथ दिएको हैन। उनको पछि लाग्दा आफ्नो व्यक्तिगतदेखि राजनीतिक लाभहानि देखेर हो। यही लाभहानिमा टिक्ने गुटतन्त्रको सीमामा रुमलिएको छ नेपाली कांग्रेसभित्र बालकृष्ण खाणलाई निलम्बन गर्ने माग।

शेरबहादुर देउवाका भरपर्दा नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी काण्डमा जेलमा छन्। खाण शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई पार्टीबाट निलम्बन गर्नुपर्ने कुरा उठेको थियो। यो कुरा अलिहे पनि उठ्दै आएको छ। यी कुरा उठाउनेहरुमा देउवा इतर समूहका थिए भन्नेमा कुनै शंका छैन। यसको अगुवाइ महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले गरेका थिए। तर यो कुरालाई देउवाले नसुनेझैं गर्दै आएका छन्। यसको लागि देउवाले केन्द्रीय समितिको बैठक नै टार्दै आएका छन्। बैठक नबसाउने तथा अन्य समिति वा भ्रातृ संगठनलाई पूर्णता नदिने चलन सिंगो नेपाली कांग्रेसकै समस्या हो। देउवाले कांग्रेसको पुरानो बानी र अभ्यास अनुशरण गरेका मात्र हुन्। यस्तो अभ्यास र अनुशरणले कांग्रेसको संस्थापन पक्षलाई लाभ मिल्दै आएको छ।

कांग्रेसमा योगदानको कदर वा अवसर प्रदान नेताको स्वार्थ र लाभहानिको आधारमा हुन्छ। आन्तरिक राजनीतिमा जितहार पनि धेरै हदसम्म प्रत्येक नेता-कार्यकर्ताको स्वार्थसँग जोडिएको हुन्छ।

corrent noodles
Metro Mart

खाणलाई जेल पठाउन वा पक्राउ पर्नबाट देउवाले रोक्न सकेनन्। परिस्थिति यसरी विकास भयो कि देउवाले रोक्न सक्ने अवस्था पनि रहेन। तर, देउवाले पार्टीबाट खाणलाई निलम्बन गर्न भने चाहँदैनन्। देउवा पक्षले अदालतमा विचाराधीन मुद्दामा कुनै निर्णय नगर्ने जनाएको छ। यो निलम्बन रोक्ने एक तर्कमात्र हो। वास्तवमा देउवाको मनोविज्ञान खाणलाई निलम्बन नगर्ने भन्ने नै छ। यो गुटगत राजनीति वा गुटतन्त्रको बाध्यता पनि हो। गुटतन्त्रमा कुनै व्यक्ति माथिको समर्थन वा विरोध गुण-दोषको आधारमा हुँदैन। आफ्नो र आसेपासेको नाममा हुन्छ। गुटको सदस्यले खराब काम नै गरे पनि बचाउ गर्नुपर्ने बाध्यता हुन्छ।

लोकतान्त्रिक विधि निलम्बन परेको ठाउँमा कुनै व्यक्ति दोष वा कसुरको आधारमा निलम्बित हुँदैन। देउवाको गुटले देउवाले गरेका सबै  निर्णयको समर्थन गर्ने हो। आफ्नो समर्थनले गलत नै गरे पनि देउवालाई बचाउनुपर्ने बाध्यता छ। अन्यथा आपतमा नबचाए समर्थकको संख्या घट्दै जान्छ। अल्पमत र बहुमतको खेल चलिरहने राजनीतिमा संख्या घट्नुको असर कस्तो हुन्छ, यसले गुट सञ्चालन वा पार्टीभित्र शक्ति सञ्चयमा कस्तो असर पर्छ भन्ने  कुरा सत्ता राजनीतिमा तीन दशकभन्दा बढी समय गुजारेका देउवालाई राम्ररी थाहा छ।

देशमा भ्रष्टचार बढ्दै गएको प्रमाणहरु जुट्दै गर्दा एकाध नेता, प्रशासक र कर्मचारीमात्र भ्रष्ट छन् भनेर तर्क गर्न सकिँदैन। एकाधको कर्तुतले मात्र देशमा भ्रष्टाचार मौलाएको सन्देश दिन सक्दैन। धेरै नेता, कर्मचारी र प्रशासक भ्रष्टाचारमा संलग्न छन्। यो अर्थमा ती नेता अभागी हुन्, जसका प्रमाण सार्वजनिक भए वा पक्राउ परे। यस्तो बेला बालकृष्ण खाणलाई निलम्बन गर्नु भनेको देउवाले भ्रष्टाचार वा कुनै पनि अपराधमा मुछिएका नेतालाई बचाउने कोसिस गर्दैनन् भन्ने सन्देश दिनु हो। यो सन्देश प्रवाह भयो भने सिधा असर अहिलेको गुटतन्त्रमा हुन्छ। कुन बेला पोल खुल्ला र पक्राउ परिएला भन्ने डर यहाँका धेरै नेता, प्रसाशक र कर्मचारीलाई छ। यसमा जोगाउने ठूला दल र नेताले हो। तर सम्बन्धित दलसँग र दलका नेतासँग स्वार्थ नमिलेसम्म अपराध ढाकछोपको काम हुँदैन। यसले बच्ने र बचाउने दुवैबीच सरसहयोगको अन्योन्याश्रित सम्बन्ध कायम गर्छ। त्यसैले देउवाले खाणलाई निलम्बन नगरेर सकेसम्म पार्टीले बचाउने कोसिस गर्छ भन्ने सन्देश प्रवाह गर्दैछन्। ताकि उनका गुटका अन्यको उनीप्रतिको विश्वासमा कमी नआओस्।

कांग्रेसमा योगदानको कदर वा अवसर प्रदान नेताको स्वार्थ र लाभहानिको आधारमा हुन्छ। आन्तरिक राजनीतिमा जितहार पनि धेरै हदसम्म प्रत्येक नेता-कार्यकर्ताको स्वार्थसँग जोडिएको हुन्छ। कुनै पनि आन्तरिक निर्वाचन वा महाधिवेशनको परिणाम स्वार्थ र आर्थिक जोहोको तालमेलले निर्धारण गर्छ। यस्तोमा आफ्नो गुटमा आबद्ध नेतालाई जोगाउनु नेताको बाध्यता हो।

प्रकाशित: Jul 13, 2023| 15:52 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्