काठमाडौं–माण्डु हाइड्रोपावरले आजदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीया तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुलाएको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० अंकित मूल्यमा १०६ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो।
सेयरमा ललितपुरको बागमती गाउँपालिका–१ र २, मकवानपुरको भीमफेदी गाउँपालिका–५, ६, ७ र ८ तथा इन्द्र सरोवर गाउँपालिका–३ का स्थानीयले आवेदन दिन सक्नेछन्।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर प्रतिकित्ता २०६ रुपैयाँ अंकित गरी विदेश रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ।
कम्पनीको आइपिओमा ११ साउनसम्म आवेदन म्याद रहे पनि त्यतिबेलासम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरे आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री अवधि २६ साउनसम्म बढाइने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।