काठमाडौं- महानगरीय अपराध महाशाखाले कात्तिक ११ गते राजधानीबाट ठूलो परिणाममा पटाका बरामद गर्यो। राजधानीको व्यापारिक केन्द्र महाबौद्धमा सञ्चालन गरिएका दुई फरक पसलबाट बरामद गरिएको पटाकाको मूल्य एक करोड रुपैयाँभन्दा बढीको रहेको महाशाखाले जनाएको छ। बरामद पटाका गत असारमा काठमाडौं भित्रिएको दाबी प्रहरीले गरेको छ।
काठमाडौं महानगरपालिका-२७ मा अशोककुमार साहले सञ्चालन गरेको सुशान्त ट्वाइज एन्ड गिफ्ट हाउसबाट २०० केजी र नन्दलाल साहले सञ्चालन गरेको विवेक खेलौना हाउसबाट ५०० केजी पटाका बरामद भएको थियो।
नन्दलाल र अशोकले दसैँतिहार तथा छठ पर्वमा बिक्री गर्न उपत्यकामा कसरी पटाका भित्र्याए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार उक्त परिमाणको पटाका तीन महिना पहिले नै भित्रिएको हो।
महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार ठूलो परिमाणमा बरामद पटका र पक्राउ परेका दुवैजना माथि अनुसन्धान भइरहेको छ। भारतीय नाकाको कडा सुरक्षा पार गरी उपत्यकामा भित्रिएका पटाका दुई गुणाभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ। यसमा केही ठूला व्यापारी नै संलग्न रहेको दाबी प्रहरीको छ।
काठमाडौं महानगरपालिका–२७ मा अशोककुमार साहले सञ्चालन गरेको सुशान्त ट्वाइज एन्ड गिफ्ट हाउसबाट २०० केजी र नन्दलाल साहले सञ्चालन गरेको विवेक खेलौना हाउसबाट ५०० केजी पटाका बरामद
बरामद पटाका गमाला चक्र, झिरझिरे, रकेट, रोलक्याप, क्लासिक डिलक्स, माल्टा, सेभेन स्टार छन्। अवैध रूपमा भित्रिएका एउटा पटाका व्यापारीले एक हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।
नेपाल प्रहरीले चाडबाडमा पटाका बिक्रीवितरण तथा ओसारपसारमा कडाइ गरेको छ। नागढुंगा, फर्पिङ, धुलिखेललगायतका मुख्य नाकामा तालिम प्राप्त कुकुर परिचालन गरी पटाकालगायत अवैध सामान आयातमा निगरानी बढाइएको छ।
यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न प्रकारका ३१०२ वटा पटाकासहित १५ जनालाई पक्राउ गरेको छ। परिसरका एसपी अशोक सिंहका अनुसार तिहार तथा छठमा बिक्रीवितरण गर्न ल्याइएका पटाका नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। उपत्यकामा जनघनत्व बढी तथा भौतिक संरचना पनि नजिक रहेकाले सम्भावित क्षति न्यूनीकरण गर्न प्रहरीले पटाका नियन्त्रणमा सक्रियता बढाएको छ।
छिमेकी मुलुक भारतमा तिहार तथा छठ पर्वमा पटाका पड्काउने होडबाजी नै चल्छ। पटाकाका कारण भारतमा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ। विशेष पर्व तथा उत्सवमा पश्चिमा मुलुकमा समेत पटाका पड्काउने गरिन्छ।
तर विकसित मुलुकमा हामीकहाँ जस्तो अन्धाधुन्ध पटाका पड्काउन पाइँदैन। कुनै निश्चित स्थानमा सुरक्षा ग्यारेन्टीपछि मात्र सरकारी निकायको अनुमतिपछि मात्र पटाका पड्काउन सकिन्छ। विकसित मुलुकमा पटाका पड्काउने स्थान तोकिएको हुन्छ। बसोबास गर्ने स्थान, स्कुल, अस्पतालजस्ता संवेदनशील स्थानमा पटाका पड्काउन निषेध गरिएको हुन्छ।
नेपालीको महान् चाड तिहार तथा छठ पर्व सुरु भइरहेका बेला पटाका नियन्त्रणमा प्रहरीको सक्रियतालाई सकारात्मक रुपमा लिइए पनि पूर्व तयारी गर्न नसकेको आरोप प्रहरीलाई लाग्दै आएको छ। नेपाल भित्रिने अधिकांश पटाका भारत हुँदै भित्रिने गरेको छ। उपत्यकामा पटका दसँै आउनु तीनदेखि ६ महिनाको बीचमा भित्रिने गरेको प्रहरीले दाबी गरेको छ।
मुलुकी संहिता २०७४ मा पटाकालाई विस्फोटक पदार्थमा सूचीकृत गरिएको छ। जसअन्तर्गत पटाका ओसारपसार तथा बिक्रीवितरणमा संलग्न हुने व्यक्तिलाई तीन वर्ष कैद तथा २० हजार जरिबाना हुनेछ। तत्कालीन माओवादी द्वन्द्वपछि पटाकामाथि कडाइ गरिएको हो। पटाकाका नाममा विस्फोटक पदार्थ ओसारपसार हुने भएकाले प्रहरीले पटाकामाथि कडाइ गरेको हो।
चाडबाड लक्षित विशेष सुरक्षा योजना
तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरेर उपत्यकामा विशेष सुरक्षा योजना बनाइएको छ। महानगरीय प्रहरी कार्यालयले मातहतका निकायलाई विशेष सुरक्षा योजनाअन्तर्गत परिचालन गरेको छ। तीन सुरक्षा घेरामा प्रहरी परिचालित छन्।
पहिलो सुरक्षा घेरालाई कोर रिङ नाम दिइएको छ। यसअन्तर्गत भिभिआइपी, भिआइपीलगायत विशेष धार्मिक स्थल तथा मुख्य व्यापारिक स्थल र वित्तीय स्थानको सुरक्षामा प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।
इन्टर मिडियट रिङअन्तर्गत टोलटोलमा प्रहरी गस्ती हुनेछ। यसमा प्रहरीको क्युआर अर्थात् क्विक रेस्पोन्स टोलीले मोटरसाइकलमा गस्ती गर्नेछ भने हतियारसहितको टोलीलाई साइकल गस्तीमा खटाइनेछ। तेस्रो अर्थात् आउटर रिङअन्तर्गत उपत्यका भित्रिने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा परिएको छ। नाकाहरूमा सादा पोसाकका प्रहरी तथा तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४