म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सुरु भएको छ।
म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, प्रसारण लाइन, स्विचार्ड निर्माण र उपकरण जडानको काम सकेर मङ्गलबारदेखि परीक्षण थालेको हो। ‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ दानाको सवस्टेसनसम्म ३३ केभी प्रसाारण लाइनमा विद्युत् प्रसारण हुने भएकाले विद्युतीय तार, पोल तथा स्टेसन आदि संरचना नछुनु होला’, आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ।
आयोजनाका प्रमुख विनोद देवकोटाले हेडबक्स, टनेल, पेनस्टक पाइप तथा टर्बाइनको परीक्षण, पुनः परीक्षणपछि विद्युत् प्राधिकरणको प्रत्यक्ष निगरानीमा परीक्षण सुरु गरिएको बताए। ‘एक हप्तादेखि आयोजनाले हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका सबै कम्पोनेन्टको एक महिनासम्म अनुगमन गर्यौँ’, उनले भने, ‘सबै सूचक न्युट्रल भएपछि परीक्षण उत्पादन सुरु गरेका हौँ। प्राधिकरणका प्रतिनिधिको रहोबरमा १५ दिन परीक्षण उत्पादनपछि व्यावसायिकरूपमा उत्पादन सुरु गर्छौं।’
विसं २०७४ चैतदेखि निर्माण थालिएको आयोजनाले अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित विद्युत्गृहबाट सोही गाउँपालिका–२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सवस्टेसनसम्मको आठ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण गर्न थालेको हो।
विद्युत् प्रवाह गर्ने क्रममा प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरेर समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको आयोजनाले जनाएको छ। विद्युत्गृहमा रहेका दुईवटै युनिटका टर्बाइन र जेनेरेटरको परीक्षण सफल भएको छ।
अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका वडा नं ६ अमिलाकाफलस्थित आउटलेटबाट एक हजार दुई सय मिटर पेनस्टक पाइपमा चार सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत्गृहमा जोडिएको छ।
रु दुई अर्ब ४१ करोड लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन। विसं २०७८ मा सक्ने लक्ष्य रहे पनि कोरोना, पहिरो, सडक यातायातको असुविधालगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रवर्द्धकले बताएका छन्।
पोखरेबगरस्थित विद्युत्गृहबाट उत्पादित विद्युत् आठ किमीमाथि रहेको २२० केभी दाना सबस्टेसनसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइनले जोडिएको छ। इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिइ हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन्।
सिभिल ठेकेदार साउथ एसियन इनफ्रास्ट्रक्चरले भौतिक संरचना निर्माण सकेको हो। विद्युत्गृहको नजिकै स्विचार्ड बनाइएको छ। आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन्।
नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन्। आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएको छ।