काठमाडौं– चीन भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीनको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङ बीच बेइजिङस्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ।
भेटवार्तामा योजना आयोग र एनडिआरसीबीच सन् २०१८ र २०१९ मा भएका सम्झौत अनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकीलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ। त्यसक्रममा नेपाल र चीन सरकारका तर्फबाट गर्नुपर्ने कामबारे विस्तृत रुपमा छलफल भएको थियो।
नेपालले १६औं योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव आदान–प्रदान गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको आयोगले जनाएको छ।
आयोग उपाध्यक्ष डा. श्रेष्ठले एनडिआरसीका उपाध्यक्ष लियाङलाई उपयुक्त समय नेपालको भ्रमणका लागि निम्तो दिएका छन्। यसअघि स्टेट प्लानिङ कमिसनको रुपमा रहेको सो चिनियाँ संस्था हाल एनडिआरसीका रुपमा चिनिन्छ। यस्तै, आयोगद्वारा अगाडि बढाइएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा छ।
चिनियाँ विकास उपमन्त्रीसँग छलफल
त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उपमन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्ता भएको छ।
राजधानी बेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर सेयर्ड डेभलपमेन्ट’सम्बन्धी पहिलो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रुपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी काम हेर्ने निकाय हो।
भेटवार्ताका क्रममा दुई पक्षबीच चीन सरकारद्वारा नेपालका लागि घोषणा गरिएका सहयोगअन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन प्रगति सम्बन्धमा छलफल भएको थियो।
पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्बन्धित आयोजनालाई छिटो अघि बढाउन दुवै तर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्य बेलैमा सम्पन्न गर्नेबारे छलफल भएको आयोगले बताएको छ।
दुवै भेटवार्तामा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायत दूतावासका उच्च अधिकारी र नेपाली प्रतिनिधिमण्डलका सदस्य तथा चिनियाँ सरकारका उच्च अधिकारी सहभागी थिए। आयोग उपाध्यक्ष डा. श्रेष्ठले आजै चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।–रासस