काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् ।
अधिकांश पत्रपत्रिकाले नागरिक अगुवा पद्मसुन्दर तुलाधरको निधन भएको विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेपनि मुख्य समाचार भने अरु विषयलाई नै बनाएका छन् ।
नयाँ पत्रिका दैनिकले वैदेशिक रोजगारीको १० वर्षे कथालाई मुख्य समाचार बनाएको छ । १० वर्षको अवधीमा करिब ४० लाख युवा वैदेशिक रोजगारीका लागि गएका छन् भने ६ हजार ९ सय २१ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । १ हजार १ सय ७८ जना अंगभंग भएका छन् । १८ जना कोमामा रहेको नयाँ पत्रिकाले लेखेको छ । यो अवधीमा मुलुकले भने ४७ खर्ब ६४ अर्ब रुपैया रेमिट्यान्स भित्राएको छ ।
अलबिदा पद्मरत्न शीर्षकमा मुख्य समाचार लेखेको आजको नागरिक दैनिकले भारतीय रेल प्रदेश १ को अस्थायी राजधानी विराटनगर आइपुगेको विषलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक अगुवा तुलाधारको निधन शीर्षकमा एङ्कर न्यूज छापेको कान्तिपुर दैनिकले १७ वटा मन्त्रालय, सर्वोच्च अदालत र राष्ट्रपतिको कार्यालयले ४४ अर्ब ७५ करोड ३८ लाख रुपैया अतिरिक्त बजेट अर्थ मन्त्रालयसंग माग गरेको खुलासा गरेको छ । यो रकमको मुख्य प्रयोजन सवारी साधन खरिद, नेताहरुको सुविधा र अनुदान वितरण रहेको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले जनपुरमा बोक्सिको आरोपमा कुटपिट भएको र कर्णली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीले मन्त्री बनेपछि ४ वटा ठेक्का आफैले हात पारेको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले धनुषाको धनौजी गाउँपालिकाकी एक ३० वर्षीया महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको विषयलाई मुख्य समाचार बनाएको छ । उनलाई कुटपिट गर्नुका साथै ५० हजार जरिवाना र ५० हजारको भोज खुवाउन जातीय पञ्च भलाद्मीले निर्णय गरेको समाचारमा उल्लेख छ ।
यस्तै भारती कांग्रेसले नरेन्द्र मोदीलाई मात्रै नेपालले महत्व दिएको भन्दै नेपालसंग असन्तुष्टि जनाएको विषयलाई अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । मंसिर २६ गते मोदी पुनः नेपाल आउन लागेको खबर पनि अन्नपूर्णले प्रकाशित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४