आइतबार, भदौ १, २०८२

सरकार बनिनसक्दै कोशीमा गठबन्धनबीच खटपट

सरकार गठनपूर्व गठबन्धनका दलहरूबाट सुरुमा एक-एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई-दुई जनालाई मन्त्री बनाएको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको हो।
 |  आइतबार, असार २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र खटपट सुरू भएको छ। मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले आपत्ति जनाएको छ।

उसले आज भएको मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम पनि बहिस्कार गरेको छ। सरकार गठनपूर्व गठबन्धनका दलहरूबाट सुरुमा एक-एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई-दुई जनालाई मन्त्री बनाएको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको हो।

आज विस्तार हुने मन्त्रिपरिषद‍्‍मा माओवादी केन्द्रबाट जीवन आचार्य र  राजेन्द्र कार्की मन्त्री बनेका छन्। कांग्रेसबाट भने रामकुमार खत्री मन्त्री बनेका छन्। यसअघि शुक्रबार गठन भएको मन्त्रिपरिषद्‍मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए। मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका छन् ।

गठबन्धनमा छलफल नै नगरी कांग्रेस र माओवादीले मन्त्री पठाएका कारण आजको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको नेकपा एसको भनाइ छ। यस्तै रवैया जारी रहे सरकारलाई विश्वासको मत दिने विषयमा समेत सोच्नुपर्ने अवस्था सिर्जना भएको पार्टीको भनाइ छ।

कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाले हस्ताक्षर गरेका थिए। मुख्यमन्त्री दाबीका लागि बहुमत नपुगेपछि कोशीका सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए।

Metro Mart

सरकार गठन गर्दा संविधान मिचिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गर्दै  शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो। सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा लागि आवश्यक ४७ प्रदेश सांसदको बहुमत देखाएर मुख्यमन्त्रीमा गठबन्धन दलका नेता उद्धव थापालाई नियुक्त गरेको निर्णयविरूद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले निवेदन दायर गरेका हुन्। उक्त रिटको सुनुवाइ आज हुँदैछ।

प्रकाशित: Jul 09, 2023| 10:56 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्