जनकपुरधाम- मालपोत कार्यालय जनकपुरका लेखापढी व्यवसायीहरु अनलाइन प्रणालीको विरोधमा उत्रेका छन् । अनलाइन प्रणालीका कारण आफूहरुको हकअधिकार कुण्ठित गरिएको भन्दै लेखापढी व्यवसायी विरोधमा उत्रेका हुन् ।
मालपोत कार्यालय जनकपुरले आइतबारदेखि अनलाइन प्रणाली लागू गरेको छ । यस व्यवस्थाअन्तर्गत पुरानो ढाँचालाई मान्यता नदिइएको भन्दै लेखापढी व्यवसायीले विरोध गरेका छन् ।
जग्गा नामसारीसहित अन्य प्रयोजनका लागि अनलाइन प्रणालीमा कार्यालयले पुराना फर्म रुजु गर्न नमानेपछि आफूहरुको हकअधिकार कुण्ठित भएको नेपाल लेखापढी कानुन व्यवसायी एकाइ कार्यालय मालपोतका उपाध्यक्ष रितलाल महतोले बताए ।
पुराना ढाँचामा साक्षी र लेखत साक्षीको व्यवस्था रहे पनि अहिले हटाएको भन्दै आफूहरू विरोधमा गएको महतोले बताए । अनलाइन प्रणाली तत्काल लागू नगर्न १५ कात्तिकमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको उल्लेख गर्दै महताले कार्यालयले अदालतको समेत अवहेलना गरेको बताए । अदालतको आदेशअनुसार पुराना ढाँचाका फर्महरुलाई कार्यालयले लिन नमाने आफूहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी व्यवसायीले दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४