बिहीबार, असार ४, २०८३

कञ्चनपुरमा हुलाकी सडकको काम सुस्त गतिमा

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

कञ्चनपुर- कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको पाँचौंपटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन।

National life

३० महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा साढे ६ वर्ष बितिसक्दा ६२ मध्ये २३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भएको थियो।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनीयर दीपक सुनारले पाँचौंपटक थप भएको म्याद यही असार मसान्तमा सकिने बताए। उनका अनुसार ३ वटा प्याकेजमा निर्माण गर्न दिइएको सडकको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक भने सम्पन्न भएको छ।

उनले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए दोस्रो र तेस्रो प्याकेजको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए। ‘यसअघि माथिबाटै संशोधन भएर आएपछि १ वर्ष म्याद थपिएको हो,’ इन्जिनीयर सुनारले भने, ‘तर यसपटक कारबाहीकै प्रक्रियामा जाने सम्भावना छ।’

पहिलो प्याकेजको निर्माण ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचौंपटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको हो।

Shivam cement

बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे ९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ। सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्रे गर्न दिइएको छैन। 

हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे ९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनीयर सुनारले जानकारी दिए। ‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ,’ सुनारले भने, ‘ठेक्का सम्झौता भएयता ३८ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको छ।’

निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरेको बेवास्ताका कारण ढिलाइ भएको हो। निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन। यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए।

‘हरेक दिन स्थानीयले सडक निर्माणबारे वडामा आएरभन्दा हामी पनि ठेकेदारलाई ताकेता गर्छौं तर काम गर्दैन,’ रानाले भने, ‘सडक बनाउन सामग्री यहाँ थुपारेको भए पनि निर्माणमा भने चासो नदिएको अवस्था छ।’ उनले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले १ हजार २०० मिटर सडक बनाउन रोकेको बताए।

‘भारतीय पक्षले अवरोध गरेको सडक हेर्न नेतादेखि मन्त्रीसम्म आए तर पहल भएन,’ उनले भने, ‘यसका लागि कूटनीतिक पहल आवश्यक छ।’ उनले सो क्षेत्रमा भारतले पछिल्लो समय बिजुलीका पोल समेत गाड्न नदिएको बताए।

प्रकाशित: Jul 07, 2023| 10:36 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्