काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए।
दशकौंसम्म एसएलसीका नामले हुँदै आएको कक्षा १० को परीक्षा केही वर्षदेखि एसईईको नाममा हुँदै आएको छ। नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि एसएलसीको अन्त्य भई ०७३ सालदेखि नाम परिवर्तन भई माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुवात भएको थियो।
केन्द्रबाट सञ्चालन हुँदै आएको एसएलसी परीक्षाको त्यो नै अन्तिम वर्ष थियो। परिवर्तन हरेक पुस्ताले हेर्छ, भोग्छ। हाम्रो पुस्ताले पनि परिवर्तनको विभिन्न चरण भोग्दै आयो। हामीले एसएलसी दियौं, हाम्रा सन्तानले एसईई दिने भएका छन्।
२०७२ सालमा अन्तिम एसएलसी परीक्षा भएको थियो, तर हाम्रो जिब्रोमा अझै एसएलसी शब्द नै झुण्डिएको छ। हाम्रो मनमष्तिस्कमा एसईई शब्द अझै बस्न सकेको छैन। एसईई शब्द उच्चारण गर्दा कता–कता जिब्रो बटारिएजस्तो लाग्ने। झन् ग्रेडिङ प्रणालीमा आएको नतिजा बुझ्नै सकस। डिभिजन नै सजिलो लाग्ने।
सरकारले एसएलसी परीक्षा परिवर्तन गर्न लागेको हल्लाले पनि निकै गाँजेको थियो विद्यार्थीदेखि अभिभावकसम्मलाई। अन्तिम एसएलसी दिनलाई आफू नै अन्तिम हुने आभाषमात्र पनि थियो कि जस्तो लाग्दैन। तर नयाँ एसईई दिने कलिला बालबालिकालाई भने हुनसम्मको तनाव भएको थियो। परिवर्तनको एउटा संघारमा उभिएका ती दुवैखाले विद्यार्थीको अनुभवको आफ्नै रोमाञ्चकता छ।
पहिलो एसईई नतिजाको समाचार संकलनका लागि भक्तपुर सानोठिमीको परीक्षा नियन्त्रण कार्यालय पुगेका हामी सञ्चारकर्मीमा मानसिक उथलपुथल भनिनसक्नुको छ। ग्रेडिङ प्रणालीलाई कसरी व्याख्या गर्ने ? कसरी अभिभावक र विद्यार्थीका जिज्ञासा शान्त गर्ने ? यस्ता अनेक प्रश्न मनमा उब्जे पनि तैं चुप मै चुपको अवस्था थियो। परीक्षा नियन्त्रण कार्यालय र परीक्षा बोर्डका अधिकारीहरु पनि अन्योल र हतारमा देखिन्थे। एक प्रकारको असहज वातावरण थियो। अबेर राति नतिजा प्रकाशन भयो। हामीले मोबाइलको भरमा न्युजरुमसम्म नतिजा पुर्यायौं। कसैले ल्यापटपमा त्यहीँ बसेर औंला चलाए, कसैले मोबाइलमा औंला दौडाए। जे होस् न्युज ब्रेकको होड वा दौडमा लेखेको एक-एक शब्द पनि इतिहास नै हो।
वि.सं. १०९० सालको पुस अन्तिम सातादेखि नेपालमा पहिलो पटक कक्षा १० को प्रवेशिका परीक्षा (एसएलसी) सुरु भएको थियो। एसएलसी सुरु भएको ८३ औं वर्ष २०७३ सालदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) बनाइयो। सोही वर्षदेखि अक्षरांकन अर्थात् लेटर ग्रेडिङ प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ। त्यसअघि पहिलो, दोस्रो, तेस्रो डिभिजन गरी नतिजा आउँथ्यो। कैयौं विद्यार्थी फेल हुन्थे। उच्च शिक्षाको फलामे ढोका मानिने एसएलसी पास गर्न पनि कतिपयलाई वर्षौं लाग्थ्यो।
सात वर्षयता एसईई हुँदै आए पनि यो परीक्षा प्रणालीको अन्योल अझै कायम छ। ०७५ देखि त एसईई प्रदेशस्तमा हुन थालेको छ। पहिलो एसईई परीक्षामा ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए। त्यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको थियो। प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएको थियो। काठमाडौं उपत्यका र बाहिर विभिन्न जिल्लाको क्लस्टरअनुसार परीक्षामा सहभागी विद्यार्थीको प्रश्नपत्र फरकफरक बनाइएको थियो।