बिहीबार, साउन ७, २०८३

आजका अखबार : कस्ता खबरले पाए प्राथमिकता ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् । 

कसैले सत्तारुढ दल नेकपाका नेताहरु कोही सरकारको बचाउमा, कोही विरोधमा उत्रिएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले नेकपाका सांसदहरुको लेबी फरक–फरक रहेको विषयलाई प्राथमिकतामा पारेका छन् ।

आजको अन्नपूर्ण पोस्ट्ले बोलि बाझिँदै शीर्षकमा मुख्य समाचार छापेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब चौथो गिएरमा काम गर्छ भनेर अभिब्यक्ति दिइरहदा अर्का नेता वामदेव गौतमले सरकारमा दुईतिहाईको दम्भ देखिएको आरोप लगाएका छन् ।

सरकारको गतिविधिलाई लिएर नेकपाका शीर्ष नेताहरु नै विभाजित भएको र सार्वजनिक स्थलमै असन्तुष्टि ब्यक्त गर्न थालेको समाचारमा जनाइएको छ । 

हिमाली क्षेत्रमा रहेको बहुमुल्य जडीबुटी सेतक चिनीको अबैधरुपमा संकलन र निकासी भएको विषलाई मुख्य समाचार बनाएको आजको कान्तिपुरले नेकपाका सांसद्को लेबी फरक फरक रहेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा तत्कालिन एमालेका सांसद्ले मासिक १३ हजार लेबी पार्टीलाई बुझाउछन् भने तत्कालिन माओवादी केन्द्रका सांसद्ले १२ हजार बुझाउँदै आएका छन् ।  

आजको नयाँ पत्रिकाले भने रक्षामन्त्रीको हेलिकोप्टर बसाउन बारामा क्रिकेट म्याच स्थगित गरिएको र क्रिकेट मैदानको पिच भत्किएको विषयलाई मुख्य समाचार बनाएको छ ।

यस्तै भारतले नेपाली यात्रीलाई थप कडाइ गरेको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकतामा पारेको छ । उसले भारत हुँदै बाहिर जान नो अब्जेक्सन सर्टिफिकेट चाहिने र फर्कदा भिसा चाहिने ब्यबस्था लागु गरेको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले भने धानमा सिन्डिकेटः सरकारले तोकेको मूल्य पाएनन् किसानले शीर्षकमा मुख्य समाचार छापेको छ । उसले के गर्दैछ थिंङ ट्यांक शीर्षकमा अर्को विशेष खबर लेखेको छ ।

सरकारका विषयमा नेकपाका शीर्ष नेता नै बिभाजित

'बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा।

‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा।

०००
यी दुई बोली नेकपाका दुई शीर्ष नेताका हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल सरकारको समर्थनमा जुन दिन बुटवलमा बोल्दै थिए, त्यही दिन काठमाडौंमा सचिवालय सदस्य वामदेव गौतमले विरोध गरिरहेका थिए। 

आजको अन्नपूर्णमा प्रकाशित खबरअनुसार अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारबारे नेकपा नेताका स्वर बाझिन थालेका छन् । दाहालले पार्टीको प्रदेश ५ कमिटीले गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीको समेत प्रशंसा गरे। गौतमले भने ओखलढुंगाका शिक्षक गुरु लुइँटेलको स्मृति सभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

‘चुनाव घोषणापत्र बनाउने संयोजक मै थिएँ तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा घोषणापत्रमा उल्लेख विषय आएनन्, चुनावी घोषणापत्र कार्यान्वयन गर्नैपर्छ,’ गौतमले भने, ‘दुईतिहाइको बहुमत त हामीसँग छ, काम हुन सकिरहेको छैन। त्यो दुईतिहाइको कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ। कांग्रेस सभापति देउवाले भने जस्तै।’

चुनावअघि तत्कालीन एमाले र माओवादीले गौतमलाई नै संयुक्त चुनावी घोषणापत्र बनाउने जिम्मा दिएका थिए। पार्टी एकतापूर्व पार्टी एकता संयोजन समितिले सुशासन र विकासका प्राथमिकता सम्बन्धमा सुझाव दिन पनि नेता गौतमकै नेतृत्वमा कार्यदल बनाएको थियो। त्यही कार्यदलले चुनावी घोषणपत्र बनाएको थियो। विकास र सुशासनका खाका पनि तयार पारेको थियो।

आफू नेतृत्वको कार्यदलको रिपोर्ट सरकारले ग्रहण गर्न नसकेको भन्दै शनिबार गौतमले असन्तुष्टि पोखेका हुन्। गौतम मात्र होइन, नेकपामा सरकारको कार्यशैलीप्रति असन्तुष्टि चुलिँदो छ। केही समयअघि वरिष्ठ नेता माधव नेपालले संसद्मै उभिएर सरकारको आलोचना गरे। त्यसयता जिम्मेवार नेताहरूबाटै सरकारप्रति असन्तुष्टि पोख्ने क्रम बढ्दो छ।
----------------
पार्टी एउटै, लेबी फरक


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो  । संघीय संसद्मा फरक–फरक लहरमा बस्ने सांसद एकीकरणयता मिसिएर बस्छन्  ।

आजको कान्तिपुरमा प्रकाशित खबरअनुसार उनीहरूले पार्टीलाई बुझाउने लेबी भने फरक–फरक छ । 

संघीय संसद् सचिवालयका अनुसार तत्कालीन एमालेतर्फकाले प्रतिसांसद मासिक १३ हजार र तत्कालीन माओवादी केन्द्रतर्फकाले १२ हजार तिर्ने गरेका छन् । पार्टीलाई तिर्नुपर्ने लेबी कटाएर मात्रै सचिवालयले सांसदको तलब बैंकमा पठाउने गरेको छ । 

प्रतिनिधि र राष्ट्रिय सभा गरी एमालेतर्फका १ सय ४८ र माओवादीका ६५ सांसद छन् । ती दुवै मिल्दा नेकपाका २ सय १३ सांसद भइसके । संसदीय दल एउटै, सचेतक र प्रमुख सचेतक पनि एउटै । दुई दलबीच जेठ ३ मा एकीकरण भएको थियो । निर्वाचन आयोगले समेत एकीकृत दल ‘नेकपा’ लाई मान्यता दिइसकेको छ ।

जेठ १६ मा बसेको संसदीय दलको बैठकले देव गुरुङलाई प्रमुख सचेतक तोकेको छ । एकीकरणअघि एमालेको प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी थिए । त्यस्तै माओवादीको प्रमुख सचेतकमा देव गुरुङ थिए ।
.................

के गर्दैछ ‘थिंक ट्यांक’ ?


आजको नागरिक दैनिकमा प्रकाशित खबरअनुसार व्यवस्थापकीय काममा व्यस्त रहेको नीति अनुसन्धान प्रतिष्ठानले मुलुकको परराष्ट्र, सुरक्षा, विकास नीतिलगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई सुझाव दिने भएको छ। 

आफ्नो उद्देश्यअनुसार काममा एक साताभित्रै सक्रिय भएर लाग्ने प्रतिष्ठानको तयारी छ। असोज ६ गते मन्त्रिपरिषद् बैठकले सरकार मातहतमा रहनेगरी पाँच सदस्यीय नीत अनुसन्धान प्रतिष्ठान गठन गरेको थियो। सरकारले प्रतिष्ठानलाई ‘थिंक ट्यांक’ का रूपमा अघि बढाउने निर्णय गरेको छ। यसले परराष्ट्र, सुरक्षा, अर्थ, जलस्रोत उपयोग, विकासलगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई नीतिगत सुझाव दिनेछ।

प्रतिष्ठानका लागि कर्मचारी तथा आर्थिक नियमावली तयार भइसकेको र बजेट छुट्याउने काम पनि भइसकेकाले अब छिट्टै उद्देश्यअनुसार काम थाल्ने जानकारी प्रतिष्ठानका अध्यक्ष एवं समाजशास्त्री चैतन्य मिश्रले दिए। 

‘प्रतिष्ठान नयाँ भएकाले कार्यालय, नियमावली र बजेट व्यवस्थापन गर्दा उद्देश्यअनुसार काम थाल्न केही ढिला भएको हो। अबको एक सातापछि केही न केही काम सुरु हुन्छ,’ उनले भने। प्रतिष्ठान अनामनगरमा कार्यालय स्थापना तयारीमा जुटेकोे छ।
--------------

सेतक चिनी दोहन

आजको कान्तिपुर दैनिकमा प्रकाशित खबरअनुसार जिल्लाका हिमाली क्षेत्रमा रहेका बहुमूल्य जडीबुटी सेतक चिनी बिना अनुमति संकलन र निकासी भइरहेको छ ।

सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लाबाट आएका सयौं मानिस भदौ अन्तिम सातादेखि वनक्षेत्रमै पाल हालेर बसेका छन् । अवैध धन्दा रोक्न गएको वनटोली असुरक्षाको कारण देखाउँदै बीचबाटै फर्किएको छ ।

अहिले बझाङका वनमा रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेतसम्मका मानिस सेतक चिनीलगायत जडीबुटी संकलनमा व्यस्त छन् । साइपाल गाउँपालिकाका चाल्नावन, राइढुंगी, माझा, फरालखेत, स्याङवन, औलागाड, दोतले, चिडा र सुर्मा गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, पार्थी क्षेत्रमा संकलन र निकासीमा संलग्नहरू छयासछयास्ती देखिन्छन् । 

‘बुंगल नगरपालिका, दुर्गाथली, छबिसपाथिभेरा, खप्तडछान्ना गाउँपालिकाका वनमा स्थानीय र बाहिरी जिल्लाका संकलकले पाल टाँगेर डेरा जमाएका छन्,’ साइपाल–५ का ढाक्पा लामाले भने, ‘साइपाल गाउँपालिकामा मात्र ७० हजार क्विन्टलभन्दा बढी सेतक चिनी संकलन गरेर राखिएको छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।