जनकपुरधाम–सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता रामविलास महतो हत्या घटनामा प्रहरीले नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ । नेकपा कार्यकर्ता उपेन्द्रराय यादवलाई शुक्रबार राति भारतीय प्रहरीको सहयोगमा प्रहरीले भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
सर्लाहीको रामनगर–४ मा नेकपा र नेपाली कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो ।
रामनगर घटनामा नेकपाका १५ जना कार्यकर्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता भएको छ । जसमध्येय गोली चलाउने दुईजना रहेको भनिएको छ। यद्यपी उनीहरुको नाम भने खुलाइएको छैन् । रौतहट सीमा क्षेत्रबाट पक्राउ परेका उपेन्द्र घटनाको मतियार रहेको अभियोग छ ।
यसैबीच सर्लाही बन्दको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले शनिबार जिल्लाका सबै स्थानीय तहहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । रामविलासलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार र दोषीलाई कारबाहीको माग राख्दै कांग्रेसले आइतबार सर्लाही बन्दको घोषणा गरेको छ ।
माग पुरा नभएसम्म रामविलासको शव नबुझ्ने कांग्रेसले अडान राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४