काठमाडौं- कात्तिक १७ गते शनिबार कहाँ के के भयो ? दिन भर नेपाल समयले गरेको अपडेटको सक्षिप्त समाचार थाहा पाउनुहोस्, 'नेपाल समयको दिनभरी' मार्फत
'सरकारले अब चौथो ‘गेयर’मा काम गर्छ'
बुटबलमा पुगेका नेकपाका अध्यक्ष प्रचण्डले नीति बनाउन सक्रिय रहेको सरकारले अब चौथो 'गेयर'मा काम गर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको वर्तमान सरकारलाई कुनै प्रतिक्रियावादीले पनि अवरोध गर्न नसक्ने बताए। उनले भने, ‘१४ बर्ष जेलवास र १४ बर्ष बनबास भएका हामी मिलेर दुई तिहाईको सरकार बनाएका छौ । अब यो सरकारलाई कुनै प्रतिकृर्यावादीको अवरोधले छेक्दैन ।’
सरकारविरुद्ध खनिए वामदेव : ‘पार्टीभित्र दुई तिहाईको दम्भ’
नेकपाका सचिवालय सदस्य वामदेव गौतम आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध खनिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भएकाले त्यसको प्रतिवाद गर्न आग्रह गरिरहेका बेला पार्टीका प्रभावशाली गौतम भने सरकारकै विरुद्धमा खनिएका हुन् । उनले नेकपाका केही नेतामा दुई तिहाईको दम्भ रहेको दाबी गरे । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘दुई तिहाईको सरकार हुँदा सबै काम हुने र बहुमतको सरकार हुँदा केही नहुने भन्ने होइन । ०१५ सालमा नेपाली कांग्रेसको दुई तिहाई थियो । त्यसपछि कुनै सरकार पनि दुई तिहाईको छैन । काम गर्ने संख्याले होइन, पार्टीको भिजनले हो । त्यसकारण तपाईंहरू (कांग्रेस) पनि दुई तिहाई नभन्नुस्, हामी पनि दुई तिहाईको दम्भ गर्दैनौं । तर नेकपाभित्रका केही शीर्ष नेतामा दुई तिहाईको दम्भ छ।’
‘केन्द्र र प्रदेश मिलेर सर्लाही घटनाको अपराधी जोगाउन खोज्यो’
जनकपुर पुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकार र प्रदेश सरकार मिलेर सर्लाही घटनाका अपराधीलाई जोगाउन खोजेको आरोप लगाएका छन् । सर्लाहीमा नेकपा कार्यकर्ताले गोली हानी रामविलास महतोको हत्या गरेको घटनामा प्रदेश सरकार केहि नबोल्नु अपराधी जोगाउन संघीय सरकारसँग उसको मिलोमतो रहेको निधिले बताए । ‘सर्लाही घटनाका अपराधीहरुको पहिचान भइसकेको छ,’ शनिबार जनकपुरमा जनकपुर युथ क्लबको नवनिर्मित भवन उद्घाटन गर्दै निधिले भने,‘सर्लाही प्रदेश २ कै जिल्ला हो । तर, प्रदेश सरकारले केहि बोलेको छैन् । दुबै सरकार मिलेर अपराधी जोगाउँदै छ ।’
नर्सिङ मोह : पीडा भुलेर मुस्कानसहितको सेवामा युवती
सेतो कुर्तामा चिटिक्क परेर काममा खटिँदा उरुसा मगर प्रसन्न देखिन्छन् । सबैलाई माया र सत्कारसाथ सहयोग र परामर्श गर्नु उनको स्वभाव अनि पेसागत मर्यादा हो । विगत दुई वर्षदेखि ललितपुरको पाटन अस्पतालमा नर्सिङ पेसामा आबद्ध उनी भन्छिन्, ‘आफ्नो पेसालाई मनबाटै स्वीकार्नुपर्छ ।’ ड्युटी अवधिभर उनी सबै तनाव बिर्सेर जिम्मेवारीमा व्यस्त हुने गर्छिन् । उनलाई अचेल अस्पताल घरजस्तै लाग्न थालेको छ । घर र अस्पताल दुवै उत्तिकै महत्त्वपूर्ण हुँदा सुरुका दिनमा उनलाई समय मिलाउन गाह्रो भएको थियो । तर उनले अहिले समय व्यवस्थापन गरिसकेकी छिन् । सानैदेखिको आफ्नो रुचिको पेसामा संलग्न हुन पाउँदा उनी औधी खुसी छिन् । विदेश गएर नर्सिङ अध्ययनलाई अझै राम्रो बनाई स्वदेश फर्केर स्तरीय सेवा दिने उनको सपना छ । उनी भन्छिन्, ‘अस्ट्रेलिया नर्सिङ अध्ययनका उपयुक्त छ रे ।’
व्यापार घाटा दैनिक ३ अर्ब ८८ करोड
विगत तीन महिनामा मुलुकको व्यापार घाटा करिब साढे तीन खर्ब रुपैयाँ पुगेको छ। मुलुकको व्यापार आयातमुखी बन्दै जाँदा घाटा चुलिएको हो। भन्सार विभागको तथ्यांकअनुसार चालु आव ०७५/७६ को पहिलो तीन महिना साउन, भदौ र असोजमा मुलुकको व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। तीन महिना अवधिमा कुल तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात र २३ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको छ।
कर्णालीका २१ पर्यटकीय गन्तव्य : कुन ठाउँमा कसरी पुग्ने?
कर्णाली प्रदेश भौगोलिक रूपमा जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ। धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका हिसाबले पनि विशिष्ट छ कर्णाली। कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय हो। यही संग्रहालयबाट सरकारले हालै सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यमा कर्णालीबका २१ वटा पर्यटकीय क्षेत्र समावेश गरिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छनोटमा कर्णालीका १० जिल्लाबाट २१ वटा पर्यटकीय गन्तव्य समावेश छन्।
अब बैंकिङ क्षेत्रमा 'विद्युतीय हस्ताक्षर'
विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेको छ। सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालयले बैंकिङ क्षेत्रका सरोकारवालासँग छलफलसमेत गरेको छ।
श्रम स्वीकृतिका काम शनिबार पनि
वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो।
प्रविधिको गोप्य चोरीबारे 'तथ्य’ दिन अमेरिकालाई चीनको चुनौती
चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रविधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ। अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रविधि चोरी गरेको आरोप लगाएका थिए।
पोखरा शिर्ष स्थानमा रहदै पीपीएलको फाइनलमा
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत काठमाडौं रोयल्सलाई पराजित गर्दै लिगको शिर्ष स्थानमा रहदै पोखरा पल्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गर्दै लिगको शिर्ष स्थानमा प्रवेश गरेको थियो । काठमाडौंले दिएको १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १५.५ ओभरमा मात्र ६ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायो । पोखराका लागि मोहमद नाभिदले ३६ रन जोड्दा रविन्द्र सिंहले २२, आसिफ सेखले १७, रोहित कुमार पौड्यालले १५ र कुसाल भुर्तेलले १४ रन जोडे ।
चितवन विराटनगरलाई पराजित गर्दै दोस्रो चरणमा
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको अन्तिम खेलमा विराटनरलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । यससँगै धागढी ब्लुज, बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरीएका छन् । विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको चितवनले १९.३ ओभरमा मात्र ६ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायको हो । चितवनका लागि सन्नी पटेलले अर्धासतकिय पारी खेल्दै अविजित रहे ।