वीरगंज-पर्सा प्रहरीले वीरगंजबाट दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१० आदर्शनगर बस्ने पवनकुमार सर्राफ, पवनका ३२ वर्षीय छोरा ज्ञानेन्द्रकुमार सर्राफ र पर्साको धोबिनी गाउँपालिका-५ बस्ने ३० वर्षीय ईम्त्याज आलम रहेको प्रहरीले जनाएको छ।
पवनको घरमा अवैध रुपमा वित्तीय कारोबार हुण्डी सञ्चालन भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। खानतलाशीको क्रममा कोठाको दराजबाट नेपाली १ हजार दरको नोट ६८६ थान (६ लाख ८६ हजार) र नेपाली पाँच सय दरको नोट १ हजार ७ सय ३१ थान (८ लाख ६५ हजार) गरी जम्मा १५ लाख ५१ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी उनीहरुको साथबाट नगद जम्मा गरेको तथा खाली सादा भौचर पाँच थान, विभिन्न बैंकहरुको सादा चेकबुक तथा नगद जम्मा गरेको भौचरहरुसमेत बरामद भएको छ।
पक्राउ परेका तीनैजनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४