बिहीबार, साउन ७, २०८३

पीडा भुलाउँदै मुस्कुराउने नर्सहरू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सेतो कुर्तामा चिटिक्क परेर काममा खटिँदा उरुसा मगर प्रसन्न देखिन्छन् । सबैलाई माया र सत्कारसाथ सहयोग र परामर्श गर्नु उनको स्वभाव अनि पेसागत मर्यादा हो । विगत दुई वर्षदेखि ललितपुरको पाटन अस्पतालमा नर्सिङ पेसामा आबद्ध उनी भन्छिन्, ‘आफ्नो पेसालाई मनबाटै स्वीकार्नुपर्छ ।’ ड्युटी अवधिभर उनी सबै तनाव बिर्सेर जिम्मेवारीमा व्यस्त हुने गर्छिन् । उनलाई अचेल अस्पताल घरजस्तै लाग्न थालेको छ ।

घर र अस्पताल दुवै उत्तिकै महत्त्वपूर्ण हुँदा सुरुका दिनमा उनलाई समय मिलाउन गाह्रो भएको थियो । तर उनले अहिले समय व्यवस्थापन गरिसकेकी छिन् । सानैदेखिको आफ्नो रुचिको पेसामा संलग्न हुन पाउँदा उनी औधी खुसी छिन् । विदेश गएर नर्सिङ अध्ययनलाई अझै राम्रो बनाई स्वदेश फर्केर स्तरीय सेवा दिने उनको सपना छ । उनी भन्छिन्, ‘अस्ट्रेलिया नर्सिङ अध्ययनका उपयुक्त छ रे ।’ 

पहिला नर्सको संख्या कम थियो भने प्रतिस्पर्धा पनि थोरै । तर अहिले नर्सिङ अध्ययन गर्ने छात्राको संख्या बढेसँगै यस क्षेत्रमा प्रतिस्पर्धा पनि बढेको उनको अनुभव छ । तर सेवासुविधाप्रति भने नर्सहरू सन्तुष्ट छैनन् । यस्तै काम गर्ने वातावरण असहज हुँदा कहिलेकाहीँ नर्सहरू तनावमा पर्ने गरेका छन् । उरुसा भन्छिन्, ‘सधैं आफूले भनेजस्तो वातावरण हुँदैन । नयाँ मानिस र वातावरणसँग आफूलाई समायोजन गर्न अलि गाह्रो हुन्छ ।’ रात्रिकालीन सेवामा खटिँदा धेरै गाह्रो हुने अनुभव उनको छ । ‘बिरामीलाई कतिखेर गाह्रो हुन्छ थाहै हुँदैन । त्यसैले आफू जतिबेला पनि तयारी अवस्थामा रहनुपर्छ ।’ 

बिरामीको सेवा गर्दाको आनन्द

अल्का अस्पतालकी रूपा तामाङलाई नर्सिङ पेसा अपनाउँदा सुरुमा ज्यादै सकस लागेको थियो । तीन वर्षअघि पेसामा आबद्ध भएपछि राति सुत्न नपाउँदा, जतिबेला पनि दबाबमा काम गर्नुपर्दा अनि निजी जीवन स्वतन्त्रपूर्वक बिताउन नपाउँदा उनी दिक्क थिइन् । तर अहिले उनी त्यही पेसामा रमाएकी छन् । उनी भन्छिन्, ‘सबै बिरामीलाई आफ्नो मान्छे सम्झिँदा काम गर्न सहज हुँदो रहेछ । बिरामीसँग माया र सद्भाव बाँड्न पाउँदा मनमा शान्ति हुन्छ । यसमा पाइने आनन्द भिन्नै छ ।’ 


तनावपछि मिलेको खुसी

सुष्मा पाठकले आफ्नो चाहनाभन्दा पनि आमाको ढिपीले नर्सिङ पढेकी हुन् । अहिले ललितपुरको खुमलटारस्थित ‘ट्रांक्युलिटी रिसर्च सेन्टर एन्ड हस्पिटल’ मा कार्यरत उनलाई सुरुमा पढ्न निकै कठिन भएको थियो । ‘प्रवेश परीक्षामा नाम निस्किन्छ भन्ने आसै थिएन तर पास भएछु । त्यसपछि नर्सिङ पढेर अगाडि वढ्नुपर्छ भन्ने सोचको विकास भयो,’ उनले भनिन् ।

पढाइलाई निरन्तरता दिँदा उनले मानसिक तनाव खप्नुपरेको थियो । उनले भनिन्, ‘मनमा कतै भागौं र पढाइ छाडेर आरामले बसौं भन्ने विचार पनि आयो ।’ पढाइ र प्राक्टिकल सँगै अघि बढाउन गाह्रो हुने उनको अनुभव छ । त्यतिबेला निकै मिहेनत गरेकै कारण अहिले आफ्नो पेसामा खुसी मिलेको उनी बताउँछिन् । विगत एक वर्षदेखि अस्पतालमा खटिएकी उनले अहिले आफूमा आत्मविश्वास, सेवाभाव र जस्तोसुकै अवस्थामा पनि नहच्किने उत्साह बढेको बताइन् । 

काम धेरै, जस कम

बिरामीलाई कुनै पीडा भयो भने आफन्तहरू सबै दोष नर्समाथि थोपर्छन् । सुष्मा भन्छिन्, ‘हाम्रो काम बिरामीलाई स्वस्थ बनाएर घर फर्काउनु हो । बिरामीलाई समस्या होस् भन्ने चाहना हामीमा हुँदैन ।’ तर बिरामीलाई नकारात्मक असर पुर्‍याउने चाहना नर्सहरूमा हुँदैन । सामान्य विषयमा पनि आफूमाथि दोष आइलाग्दा पटक निराश हुन गरेको अनुभव उनको छ । जस्तोसुकै अवस्थामा पनि हाँसीखुसी सेवा प्रदान गर्नु नै नर्सको मुख्य दायित्व रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘बिरामीलाई समयमा औषधि दिने र हेरविचार गर्ने काम नर्सहरुको हुन्छ । बिरामी कुरुवाहरु डाक्टर–डाक्टर भन्ने गर्छन् । नर्सलाई मान्छे नै गन्दैनन् ।  नर्सले गलत उपचार गर्छन् र ?’ 


सजिलो छैन जागिर

संगीता मिजारले सानैदेखि नर्स बनेर बिरामीको सेवा गर्ने सपना देखेकी थिइन् । परिवारमा प्रायः सबैजना बिरामी भइरहने हुनाले नर्स बन्ने अठोट थियो उनको । बुवा प्यारालाइसिस र हजुरआमा मुटुरोगी भएकाले संगीता र उनकी दिदी समिताले नर्सिङ पढ्ने निर्णय गरे । नभन्दै उनीहरूको योजना साकार भएरै छाड्यो । संगीताले छात्रवृत्तिमा नाइटिंगेल नर्सिङ कलेजबाट डिप्लोमा गरेकी छन् । अहिले उनी ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा कार्यरत छिन् । यस्तै उनकी समिता बिएस्सी नर्सिङ गरी कार्यक्षेत्रमा खटिएकी छिन् ।

नर्सको लाइसेन्स पाएपछि अस्पतालमा आबद्ध भएर काम गर्न धेरै गाह्रो हुने संगीताको अनुभव छ । अस्पताल वा त्यहाँका विशिष्ट व्यक्तिसँग जसको सम्पर्क छ, उसैलाई मात्र जागिर पाउन सजिलो हुने उनी बताउँछिन् । पढाइ सकिएलगत्तै गणेशमान हस्पिटलमा काम थाल्दा भोग्नुपरेको सकस उनको मानसपटलमा ताजै छ । सुरुका दिन सम्झँदै उनी भन्छिन्, ‘जागिर छोडेर अब घरमै बस्छु या यो क्षेत्र नै छोडिदिन्छु भन्ने पनि लागेको थियो ।’ 

बिरामीलाई सहयोग गर्दा हामीलाई पनि गर्दा हुन्छ नि भनेर जिस्काउने, अभद्र व्यवहार गर्न खोज्ने केही व्यक्तिको प्रवृत्तिले कहिलेकाहीं मन खिन्न हुने गरेको उनी बताउँछिन् । अस्पताल प्रशासनले नर्सको समस्या नबुझेको गुनासो उनको छ । केही डाक्टरहरू आफू निकै जान्नेसुन्ने ठान्छन् । यसबाट बिरामीको सेवा प्रवाहमा समस्या आउने उनी बताउँछिन् ।



पचास बिरामी : एक नर्स

नेपाल नर्सिङ परिषद्का अनुसार मुलुकमा वार्षिक सातदेखि आठ हजारसम्म नर्सिङ जनशक्ति उत्पादन हुने गरेका छन् । तर ती सबैले नर्सिङ सेवामा अवसर पाउने अवस्था छैन । धेरैजसो अस्पतालमा पचास जना बिरामीको सेवाका लागि एक जना नर्स खटिएको पाइन्छ । मुलुकभरका अस्पतालहरूको शैयाको संख्याअनुसार अझै पनि करिब ६० हजार नर्सिङ जनशक्ति अपुग छ । परिषद्का अनुसार हालसम्म ८२ हजार नर्सले लाइसेन्स पाएका छन् । 

सरकारले हालै मुलुकका हरेक विद्यालयमा एक जना स्टाफ नर्स खटाउने घोषणा गरेको छ । मुलुकभर करिब ३४ हजार विद्यालय छन् । सरकारी घोषणा कार्यान्वयन हुने हो भने अझै हजारौं नर्सहरूको खपत स्वदेशमै हुनेछ । विद्यालयमा नर्स खटिएमा बालबालिकाले लागूऔषधको असर, सरसफाइ, प्राथमिक उपचार, यौन स्वास्थ्य आदिबारे थप ज्ञान हसिल गर्न सक्नेछन् ।

तलबसुविधा ज्यादै न्यून

निजी अस्पतालमा कार्यरत नर्सले मासिक आठदेखि १२ हजार रुपैयाँसम्म तलब पाउँछन् । सरकारी अस्पतालमा भने तलबसुविधा अलिक आकर्षक छ । सरकारी अस्पतालका नर्सहरुले तलबभत्तासहित मासिक २८ हजार रुपैयाँसम्म बुझ्छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को मापदण्डअनुसार कुनै पनि व्यक्तिलाई दैनिक आठ घन्टा काममा लगाउँदा कम्तीमा पनि मासिक १३ हजार रुपैयाँ तलब दिनुपर्छ । तर निजी क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले ज्यादै थोरै पारिश्रमिकमा काम गर्नुपरिरहेको बताउँछिन् नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेल ।



विदेश मोह किन ?

नेपालमा मासिक १५ हजार रुपैयाँ आम्दानीले नर्सलाई बाँच्न कठिन छ । यहाँ सेवासुविधा पर्याप्त नपाएकै कारण विदेशिने नर्सहरुको संख्या धेरै छ । नर्सिङ पढेर केटालाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने नेपाली युवती पनि धेरै छन् । नेपालका कलेजमा नर्सिङ पढेका विद्यार्थीलाई रोजगारी पाउन त्यति कठिन छैन । तर सैद्धान्तिक ज्ञान बढी हासिल गरेका र प्रयोगात्मक ज्ञान कम हासिल गरेका विद्यार्थीका लागि भने काम पाउन गाह्रो छ । 

नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेलका अनुसार सरकारी क्षेत्रमा उत्पादित जनशक्तिलाई खपत गर्न गर्न सकिएको छैन । यस्तै निजी अस्पतालमा कार्यरत नर्सहरूको सेवासुविधाको मापदण्डमा अनुगमन गर्न सकेको छैन । यही कारणले गर्दा पनि स्वदेशमा उत्पादित जनशक्ति विदेशतर्फ आकर्षित भइरहेका हुन् ।

सरकारी अस्पतालका नर्स तनावमा

सरकारी अस्पतालका कर्मचारीभन्दा निजी अस्पतालका कर्मचारी नम्र र शिष्ट हुन्छन् । निजी अस्पतालका कर्मचारीलाई नराम्रो व्यवहार गर्दा जागिरबाट बर्खास्त हुने डर हुन्छ । निजी अस्पतालका नर्सभन्दा सरकारी अस्पतालका नर्स बढी तनावमा हुन्छन् । सरकारी अस्पतालमा नर्सको संख्या कम हुन्छ । धेरैभन्दा धेरै बिरामीको सेवामा खटिँदा उनीहरू तनावमा आउनु स्वाभाविक भएको बताउँछिन् पूर्वअध्यक्ष पोखरेल । उनले भनिन्, ‘धेरै बिरामीलाई एकैपल्ट कम जनशक्तिले सेवा प्रदान गर्न धेरै गाह्रो हुन्छ । बिरामी कुरुवा र डाक्टरको अर्को दबाबका कारण उनीहरु झर्किने गर्छन् ।’ जनशक्ति कम भएकाले सरकारी अस्पतालमा सबै बिरामीलाई उस्तै समय र माया दिन सम्भव नहुने पोखरेल बताउँछिन् । 

कति छ पढाइ शुल्क ? 

निजी क्षेत्रका कलेजमा पिसिएल नर्सिङका लागि चार लाख ७५ हजार शुल्क तोकिएको छ । छात्रवास, व्यक्तिगत खर्च आदि जोडेर थप एक लाख खर्च हुन्छ । सरकारी कलेजमा भने तीन लाख रुपैयाँ तिर्नुपर्छ । निजी क्षेत्रमा बिएस नर्सिङको पढाइ शुल्क १४ लाख रुपैयाँ तोकिएको छ । यस्तै सरकारी कलेजहरूमा नौ लाख रुपैयाँमा पढ्न पाइन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।