काठमाडौं- नेकपाका सचिवालय सदस्य वामदेव गौतम आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध खनिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भएकाले त्यसको प्रतिवाद गर्न आग्रह गरिरहेका बेला पार्टीका प्रभावशाली गौतम भने सरकारकै विरुद्धमा खनिएका हुन् । उनले नेकपाका केही नेतामा दुई तिहाईको दम्भ रहेको दाबी गरे ।
‘दुई तिहाईको सरकार हुँदा सबै काम हुने र बहुमतको सरकार हुँदा केही नहुने भन्ने होइन । ०१५ सालमा नेपाली कांग्रेसको दुई तिहाई थियो । त्यसपछि कुनै सरकार पनि दुई तिहाईको छैन । काम गर्ने संख्याले होइन, पार्टीको भिजनले हो । त्यसकारण तपाईंहरू (कांग्रेस) पनि दुई तिहाई नभन्नुस्, हामी पनि दुई तिहाईको दम्भ गर्दैनौं । तर नेकपाभित्रका केही शीर्ष नेतामा दुई तिहाईको दम्भ छ,’ गुरु लुइँटेल अध्ययन केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गौतमले भने ।
उनले सरकारले पार्टीको चुनावी घोषणापत्रअनुसार काम गर्न नसकेको आरोप लगाए । ‘चुनावअघि मेरो नेतृत्वमा पार्टीको घोषणापत्र तयार भयो । तर सरकारको नीति कार्यक्रममा घोषणापत्रको एक अक्षर पनि परेन र मलाई समेत एक शब्द सोधिएन’, गौतमले भने । उनले आफूले घोषणापत्र जसरी पनि कार्यान्वयन गर्ने बताए ।
नेकपा अलोकप्रिय होला र त्यो ठाउँ लिऊँला भने आस नगर्न उनले कांग्रेसलाई आग्रह गरे । ‘नेकपा धराशयी हुन्छ भनेर नसोच्नुस्, किनकि यो पार्टीमा वामदेव छ,’ गौतमले भने । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केही मुद्दा नपाएर निर्मला हत्याकाण्डलाई आधार बनाएर सरकार ढाल्ने कच्चा खेलमा लागेको आरोप गौतमले लगाए । ‘यो सरकार ढल्यो भने नेपाली कांग्रेसको सरकार आउँदैन, अर्को कुर्नैको सरकार बन्छ’, गौतमले भने ।
प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको राष्ट्रिय सहमतिको कुरालाई आफूले स्वागत गरेको गौतमले बताए । उनले यसलाई पार्टीको सचिवालय तथा स्थायी समिति बैठकमा छलफल गर्न प्रस्ताव लैजाने घोषणा गरे ।
नेता गौतमले विगतमा भएका गैरन्यायिक हत्याका सम्बन्धमा बेपत्ता छानबिन तथा मेलमिलाप आयोगबाट टुंगो लाग्ने बताए । उनले गैरन्यायिक हत्यामा जोसुकै संलग्न भए पनि कानुनबमोजिम हुने बताए । ‘हत्यामा संलग्न भएको प्रमाणित भए प्रचण्डमाथि पनि कारबाही गर्नुपर्छ’, गौतमले भने । उनले विगतमा माओवादीबाट भएका गैरन्यायिक हत्यामा अध्यक्ष प्रचण्डले माफी माग्नुपर्ने बताए ।
ओखलढुंगाका शिक्षक गुरु लुइँटेललाई माओवादी कार्यकर्ताले २०६० सालमा अपहरणपछि हत्या गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४