चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे तीन खर्ब व्यापार घाटा भएको छ। भारतसँग दुई खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ र चीनसँग ५२ अर्ब ५५ करोड रुपैयाँ घाटा भएको तथ्यांक भन्सार विभागको छ।
काठमाडौं- विगत तीन महिनामा मुलुकको व्यापार घाटा करिब साढे तीन खर्ब रुपैयाँ पुगेको छ। मुलुकको व्यापार आयातमुखी बन्दै जाँदा घाटा चुलिएको हो। भन्सार विभागको तथ्यांकअनुसार चालु आव ०७५÷७६ को पहिलो तीन महिना साउन, भदौ र असोजमा मुलुकको व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
तीन महिना अवधिमा कुल तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात र २३ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको छ।
तीन महिना अवधिमा भएको कुल व्यापार घाटालाई दिनले भाग गर्ने हो भने प्रत्येक दिनको व्यापार घाटा औसत तीन अर्ब ८८ करोड रुपैयाँ हुन्छ।
४६ प्रतिशतले बढ्यो घाटा
गत आवको तुलनामा चालु आवमा ४५.९२ प्रतिशत व्यापार घाटा बढेको छ। गत आवको सुरुको तीन महिनामा दुई खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो। चालु आवको सोही अवधिमा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ घाटा भएको छ।
आव ०७४÷७५ को पहिलो तीन महिनामा दुई खर्ब ६० अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात गरिएको थियो भने २० अर्ब ४५ करोड रुपैयाँको वस्तु तथा सामग्री निर्यात भएको थियो।
भारतसँग सबैभन्दा बढी घाटा
विभागका अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको छ भने सबैभन्दा कम घाटा क्रोएसियासँग भएको छ। विगत तीन महिनामा भारतबाट दुई खर्ब ३६ अर्ब १२ करोड रुपैयाँको वस्तु तथा सामग्री आयात भएको छ भने १३ अर्ब १६ करोड रुपैयाँको निर्यात भएको छ। यसरी भारतसँग दुई खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा भएको छ।
चीनसँग नेपालको व्यापार घाटा ५२ अर्ब ५५ करोड रुपैयाँ छ। चीनबाट ५३ अर्ब ११ करोड रुपैयाँको वस्तु तथा सामग्री आयात गर्दा निर्यात भने ५६ करोड रुपैयाँको मात्रै गर्न सकिएको छ।
त्यसपछि फ्रान्स, संयुक्त अरब इमरेट्स, थाइल्यान्ड, स्विजरल्यान्डलगायतका मुलुकसँग व्यापार घाटा भएको देखिन्छ। नेपालले क्रोएसियाबाट ३२ लाख ९५ हजार रुपैयाँको आयात वस्तु तथा सामग्री आयात गरेकोमा ३१ लाख ९४ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ।
१४० मुलुकसँग कारोबार, ११२ सँग घाटा
विगत तीन महिनामा नेपालको व्यापार १४० मुलुकसँग भएको छ। तीमध्ये ११२ सँग घाटा भएको छ भने २८ देशसँग नाफा भएको भन्सार विभागले जनाएको छ। सबैभन्दा बढी नाफा अमेरिकासँग भएको छ। अमेरिकासँग नेपालले ६६ करोड ८३ लाख रुपैयाँ नाफा गरेको छ। अमेरिकामा तीन अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात गरिएकोमा दुई अर्ब ५२ करोड रुपैयाँको मात्रै आयात भएको छ।
त्यसपछि सेन्ट्रल अफ्रिकन रिपब्लिक, फिनल्यान्डलगायत २८ मुलुकसँगको व्यापारमा नाफा भएको छ। नेपालले सबैभन्दा कम नाफा रुवान्डसँग गरेको छ। उक्त देशमा दुई लाख २० हजार रुपैयाँको वस्तु तथा सामग्री निर्यात गरेकोमा एक लाख २२ हजार रुपैयाँको मात्रै आयात गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४