बुधबार, कात्तिक ७, २०८१

मनाङको यात्रा
Siddartha premir insuranceSiddartha premir insurance

कटे मनाङ, झरे मर्स्याङ्दी

तल हेर्दा आङ नै सिरिङ हुने भीर, त्योभन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजंगको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।
 |  शनिबार, असार १६, २०८०
nespernesper

जनक श्रेष्ठ

जनक श्रेष्ठ

शनिबार, असार १६, २०८०

लमजुङ- घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्योभन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजंगको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।

triton college

उतिबेला अहिले जस्तो डोजर र एस्काभेटर चलाएर सडक बनाइँदैनथ्यो। साँघुरो कच्ची सडक, हरेकपटक जोखिम मोल्नुपर्ने अवस्था। ठाउँठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा। अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौं यात्रु यात्रा गर्न बाध्य छन्। यही सडक भएर दैनिक दर्जनौं सवारीसाधन लमजुङ-मनाङ आवतजावत गर्छन्। 

मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेंसीसहर–चामे सडक हो। भिरैभिर र मर्स्याङ्दी नदी माथिमाथि हुँदै ढुंगैढुंगाको सडक व्यवस्थित नहुँदा बेंसीसहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवानको भरोसामा यात्रा गर्न यात्रु बाध्य छन्। यात्रुले यस सडक पार गरे मनाङ पुग्छन्, सडकबाट तल झरे सिधै मर्स्याङ्दी नदीमा। यस्तो जोखिम मोल्नुको विकल्प छैन मनाङवासीलाई। 

जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ देखि  सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो। जनयुद्ध र अन्य विभिन्न कारणले उक्त सडक निर्माणको जिम्मेवारी २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो। तत्कालीन सेनाले शान्ति प्रक्रिया पछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो।

सेनाले उक्त जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो। सरर मटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो। नेपाली सेना कार्यगणले २०६९ मा सडक निर्माण कार्यसम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको थियो।

Metro Mart
vianet

बेंसीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। उक्त सडक लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ।

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा जोखिमपूर्ण रहँदै आएको छ। सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीय निराश बनेका छन्। मनाङवासीसँगै,  लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन्। यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ।

बेंसीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताए। ‘ठूलाठूला चट्टान ढुंगाको बीचैबीच। मर्स्याङ्दी नदीबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चल्छन्’, उनले भने। यात्रा नसकिञ्जेलसम्म डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।

विभिन्न कामलगायत घरायसी समान लिनका लागि जोखिमको यात्रा गर्न बाध्य भएको मनाङवासी बताउँछन्। भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक बर्खायाममा बाढीले खोतलिदिने र पहिरो आउने भएकाले थप जोखि बनेको चालक मगारातीले बताए। उनले समय–समयमा सडक स्तरोन्नति गरे सडक गुणस्तरीय हुने र जोखिम कम हुनेमा जोड दिए।

‘बेलाबेला ठाउँठाउँमा अवरुद्ध सडकले सवारीसाधन रोकेर बस्दा सडक भासिने हो कि? माथिबाट पहिरो आएर ज्यानै लैजाने हो कि? भन्ने जोखिम छ’, यस सडक  खण्डका चालक रामबहादुर तामाङले भने। उनले यात्राका क्रममा माथिबाट पहिरो आउने सम्भावना बढी भएको भन्दै सडक भासिए मर्स्याङ्दीमा पुग्ने खतरा पनि उत्तिकै रहेको बताए। 

‘हामीले दैनिक जोखिमपूर्ण यात्रा गरिरहेका छौं। पहिरो, बाढीको जोखिमका साथै सडक भासिने सम्भावना पनि छ’, तामाङले भने। यात्राका क्रममा बाटोमा घाइते भए वा बिरामी परेमा थप समस्या हुने गरेको उनको भनाइ छ। विगतको तुलनामा केही ठाउँमा सडक स्तरोन्नति भए पनि अधिकांश ठाउँमा सडक जीर्ण हुँदै जाँदा यात्रु दिनहुँ त्रसित हुँदै यात्रा गर्न बाध्य भएका उनले बताए।   -रासस

प्रकाशित: Jul 01, 2023| 16:58 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्