शुक्रबार, मंसिर २८, २०८१

क्लासिक
Siddartha premir insuranceSiddartha premir insurance

जब दरबारका शक्तिशाली जर्नेल प्रेममा परे

वास्तवमा 'प्रेमपिण्ड'को कथा डम्बर शमशेरको दरबारको कथा हो। यसमा राणाकालीन दरबारिया जीवनको मनोविश्लेषणात्मक चित्रण गरिएको छ।
 |  शनिबार, असार १६, २०८०
nespernesper

विजेता

विजेता

शनिबार, असार १६, २०८०

ntc landingntc landing

के भनुँ म कसो गरी परें मोहिनीको माया जालैमा...

himalayan bank box

चलचित्र 'प्रेमपिण्ड'को यो गीत अहिले पनि धेरैको मुखमा झुण्डिएको छ। प्रख्यात नाटककार बालकृष्ण समको चर्चित तथा वियोगान्त नाटक ‘प्रेमपिण्ड’माथि निर्देशक यादव खरेलले चलचित्र 'प्रेमपिण्ड' निर्माण गरेका थिए। यसमा खरेलको लेखन, गीत तथा निर्देशनसमेत रहेको छ।

वास्तवमा 'प्रेमपिण्ड'को कथा डम्बर शमशेरको दरबारको कथा हो। यसमा राणाकालीन दरबारिया जीवनको मनोविश्लेषणात्मक चित्रण गरिएको छ। प्रेमपिण्ड नाटकको विषयमा समले ‘मेरो कविताको आराधना’मा प्रष्ट पारेका छन्। एडविल नामका शक्तिशाली जर्नेलमा डम्बरशमशेरको शासकीय र क्रुर मानवीय प्रवृत्ति पाइन्छ। एडविलले दरबारीया सेवक र सुसारेबीचको प्रेम देखिसहँदैनथे। नाटककार सम स्वयं राणा परिवारका सदस्य भएको र दरबारिया घटना नजिकबाट बुझेका र चासो भएका व्यक्ति थिए। उनले आफ्ना प्रायः कृतिहरुमा दरबारभित्रको कथा पस्केका छन्। लेखक ताना शर्माले भनेका छन्, 'दरबारभित्रका कथाहरु वास्तवमा समका घरभित्रका कथा नै हुन्।'

प्रेमपिण्ड दुई प्रेमी नकुल र सविताको वियोगान्त कथा हो, जो त्रिकोणात्मक स्थितिमा आधारित छ। यसमा तेस्रो प्रेमी दरबारका निकै शक्तिशाली जर्नेल एडविल हुन्। आफ्ना सुसारेलाई जतिबेला पनि भोग गर्ने हैसियत राखेका एक जर्नेल जब सविताको साँचो प्रेममा पर्छन्, उनी निकै निरीह देखिन्छन्। प्रेमपिण्डमा मुख्य मूमिकामा नीर शाह, सरोज खनाल तथा सनी रौनियार रहेका छन्। यसमा जर्नेल एडविलको दरबार, उनको सौखिन स्वाभाव र शानशौकतलाई प्रस्तुत गरिएको छ तर वास्तवमा यो साँचो प्रेमको कथा हो।

घटनाक्रमअनुसार सविता (सनि रौनियार) सुसारेको रुपमा दरबारमा प्रवेश गर्छिन्। उनलाई जर्नेल एडविल (नीर शाह)को सुसारेको रुपमा दरबारमा स्थान दिइन्छ। सविता दरबारमा काम गर्ने युवक नकुल (सरोज खनाल)सँग प्रेममा पर्छिन्। समको नाटकमा एडविललाई निकै सौखिन प्रवृत्तिको देखाइएको छ। राणा दरबारको उच्च पदमा आसिन एडविल दरबारका केटी, सुसारेहरुसँग अनैतिक यौन सम्बन्ध राख्ने कामुक व्यक्ति हो। तर चलचित्रमा उनलाई आफ्ना सुसारेहरुसँग जबरजस्ति यौन सम्बन्ध राख्ने खलपात्रको रुपमा प्रस्तुत गरिएको छैन। उनलाई केटीहरुसँग रमाउने–रम्ने प्रवृत्तिका रंगिन पात्रका रुपमा मात्र प्रस्तुत गरिएको छ। सांकेतिक रुपमा पनि उनलाई यौन उश्रृंखल देखाइएको छ नै, बरु चलचित्रको अन्त्यतिर उनीप्रति दर्शकमा एक प्रकारको संवेदना प्रकट हुन थाल्छ।

vianet

एक संवादमा नायिका सविताले नकुललाई भन्छिन्, ‘मलाई मालिकले तालिममा हाल्छन्।’ अनि नायक नकुल भन्छ, ‘मालिकले मन परेकीलाई मात्रै तालिममा हाल्छन् रे।’ यस्तो संवादबाट एडविलले मन परेकी सुसारेसँग सम्बन्ध राख्ने कुरालाई बुझ्न सकिन्छ। तर, आफ्ना सुसारेहरु कसैको प्रेममा पर्नुलाई एडविल घृणाको दृष्टिले हेर्छन्। सविताको प्रेमबाट नकुललाई पन्छाएर उनलाई पाउनु एडविलको मुख्य उद्देश्य हुन्छ। एडविल नजानिँदो किसिमले सविताको प्रेममा पर्दै जान्छन्। 

यता सविता र नकुल प्रेममा चुर्लम्म डुबेका छन्। एक अर्काबिना मर्न तयार यी दुई प्रेमी पात्रलाई जर्नेलले खास निगाह गरे पनि झुक्दैनन्–टुट्दैनन् बरु सत्ता र शक्तिका पर्याय जर्नेल सविताप्रतिको आफ्नो एकतर्फी प्रेममा निरिह बन्छन् र झुक्छन् पनि।

चलचित्रमा देखाइएका दृश्यहरु वास्तवमै दरबारमा खिचिएको हो। चलचित्रका लागि पहिलो पटक सिंहदरबारको बेलायती बैठक खोलिएको थियो। चलचित्रमा बैठकको भव्यता राम्रैसँग उतारिएको छ। २०५० सालमा यो चलचित्र प्रदर्शन हुँदा यसको महत्वपूर्ण पाटो भनेको दरबारको वास्तविक झलक पनि हो।

बेलायती बैठकमा छायांकन हुने यो नै पहिलो नेपाली चलचित्र पनि हो। सिंहदरबार र अहिलेको राष्ट्रपति भवनमा प्रेमपिण्डको छायांकन भएको थियो। २०५० सालमा ५१ लाखको लागतमा प्रेमपिण्ड चलचित्र निर्माण भएको थियो।

एडविलको दरबारमा सामान्य गाउँले केटी सविताको प्रवेश हुन्छ। राणाकालमा राजा–महाराजा, जर्नेल, कर्णेलहरूले आफ्नो मनोरञ्जनका निम्ति गाउँ–गाउँबाट केटीहरू ल्याएर नाचगानमा, नाटकमा सरिक गराउँथे र मन परेका केटीलाई हदैसम्मको निगाह बक्सेर पत्नी, रानीसम्म बनाउँथे वा रानीभन्दा पनि शक्तिशाली बनाएर राख्थे।

एडविलले जब पहिलो पटक सवितालाई देख्छन्, उनी एउटी साधारण गाउँले केटी हुन्छिन्। सुरुमा सविताप्रति एडविलको कुनै रुचि छैन। तर जब सविता दरबारिया पहिरन र साजसज्जाका साथ उनको अगाडि पर्छिन् एडविल उनीप्रति आकर्षित हुँदै जान्छन्। सवितामा गजबको सुन्दरता र सौम्यता छ। एडविल सविताको प्रेम र सौन्दर्यतामा चुर्लुम्म डुब्छन्। यतिसम्म कि जब सविता घर जान्छु भनेर बिन्ति चढाउँछिन्, उनी सविताको पाउमै पर्छन् र आफूलाई प्रेम गर्न, स्वीकार गर्न बिन्ती गर्छन्। चलचित्रको एक संवादमा एडविल भन्छन्, ‘तँलाई गहना लगाउन मन पर्छ ? तँलाई मेरो माया लाग्दैन ?  सविता मौन बसिदिन्छिन्।

जर्नेल एडविलले सवितालाई गहना, रुपैयाँदेखि अनेक प्रकारले आकर्षित तुल्याउन खोज्छन्। सविताको हात समाएर प्रेम दर्शाउन खोज्छन् तर सविताले पूरै अस्वीकार गर्छिन्। उनलाई रानी बनाएर राख्ने प्रस्तावलाई समेत अस्वीकार गरेपछि उनी सवितालाई घर फर्काउन बाध्य हुन्छन्। उनले सवितासँग कुनै जबर्जस्ती गर्दैनन्।

दरबारका एक शक्तिशाली व्यक्ति एउटी गाउँले केटीको मायामा निरीह देखिन्छन्। नीर शाह एडविलको भूमिकामा उत्कृष्ट देखिएका छन्। उनको चरित्रलाई कतिपयले नायक भनेका छन् भने कतिपयले खलनायकसमेत भनेका छन्। तर दरबारमा यस्तो घटना विरलै हुने अनुमान लगाउन सकिन्छ। यस मानेमा एडविल जति नै कडा स्वाभावका र सौखिन किसिमका भए पनि उनी हृदय भएका पात्रका रुपमा स्थापित भएका छन्।

चलचित्रमा एउटी पत्नीको पीडालाई पनि निर्देशकले एक–दुई दृष्यको माध्यमबाट पस्कने प्रयास गरेका छन्। महलकी रानी भएर जति नै सुखसयलमा बसे पनि आफ्ना पतिलाई अन्य महिलासँग वा सुसारेहरुसँग क्रिडामा देख्दा उनीहरुको मनमा परेको चिरालाई नाटककार समले र निर्देशक खरेलले सविताको फोटो खिच्ने प्रसंगमार्फत पस्केका छन्। यो निकै सामान्य दृश्यझैं लागे पनि यो सानो दृश्यमा एउटा पूर्ण कथा नै समाहित भएको छ। समको यो कला वास्तवमा प्रसंशनीय छ। निर्देशक खरेलले समेत उक्त दृश्यसँग पूर्ण न्याय गरेका छन्।

चलचित्रको सबै गीत कर्णप्रिय र सदाबहार छन्। म छु यता कालीवारी कालीपारी मेरी माया, मेरो साथ छुटाइदियौ किन इश्वर मेरै छाया, गैरी खेतको शीरै हान्यो, वर्षायामको दरौंदीले, सपना हो यो भने सपनामे मरुँ गीत अहिले पनि मानिसको ओठमा झुन्डिएका छन्।

प्रकाशित: Jul 01, 2023| 10:22 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्