काठमाडौं- मुख्यमन्त्री हिक्मत कार्कीसहितका मन्त्रीहरू राति अबेरसम्म नफर्केपछि कोशी प्रदेशसभा बैठक शुक्रबारलाई सरेको छ। विश्वासको मतको पक्षमा बहुमत नजुट्ने निश्चित भएपछि उनीहरू बिहीबार साँझ सवा ५ बजे प्रदेशसभा बैठक छाडेर हिँडेका थिए।
बिहीबार नै सुरू भएको प्रदेशसभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। उनले पेस गरेको प्रस्तावमाथि छलफलका क्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएका थिए। जनता समाजवादी पार्टी (जसपा) भने तटस्थ बसेको थियो।
जसपा तटस्थ बसेर अन्य दल विपक्षमा बसेपछि मुख्यमन्त्रीले बहुमत नपाउने निश्चित भएको थियो। विश्वासको मतबारे छलफल सकिएपछि सभामुख बाबुराम गौतमले ५ बजेर २० मिनेटमा प्रदेशसभा बैठक आधा घन्टाका लागि भनेर स्थगित गरेका थिए।
त्यसपछि मुख्यमन्त्री कार्कीले सभामुख गौतमलाई भेटेर बैठक सार्न दबाब दिएका थिए। सभामुखले बैठक सार्न नसकिने जवाफ दिएपछि मुख्यमन्त्री आफ्ना मन्त्रीहरूलाई लिएर बाहिरिएका थिए। त्यसपछि उनीहरु प्रदेशसभामा फर्केर आएनन्।
मुख्यमन्त्री फर्केर नआएपछि सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र सचेतकहरू छलफलमा जुटेका थिए। त्यस क्रममा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बैठक सार्न माग गरेका थिए तर विपक्षी दलका नेताहरूले मानेनन्। मुख्यमन्त्रीले फोनमार्फत अनुरोध गरेपछि सभामुखले साँझ ८ बजेका लागि बैठक बोलाउन सचिवालयलाई निर्देशन दिएका थिए।
आठ बजे बैठक बस्ने सूचना जारी भए पनि मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभामा आएनन्। त्यसपछि एमाले संसदीय दलले बैठक स्थगित गर्न सभामुखलाई अनुरोध गरेपछि राति साढे ९ बजे सभामुखले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
बिहीबार बिहान मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलहरूलाई पत्राचार गरेका थिए। बिहीबार सुरू प्रदेशसभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार सफल बनेको दाबी पेस गर्दै विश्वासको मत दिन आग्रह गरेका थिए।
२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनपछि एमाले र माओवादी मिलेर केन्द्रमा सरकार बनाएपछि प्रदेशहरूमा पनि भागबन्डामा सरकार गठन भएको थियो। त्यस क्रममा कोशीमा एमाले नेता कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएर पुस २५ मा शपथ लिएका थिए। सरकारको नेतृत्व सम्हालेको १७३ दिनपछि कार्की नेतृत्वको सरकारले संसदमा विश्वासको मत मागेको थियो।
एमाले नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धनको सरकार कोशीमा बनेको थियो। त्यस बेला कांग्रेस र एकीकृत समाजवादी विपक्षमा थिए।
जेठ १७ मा जसपाले र जेठ २३ मा माओवादीले साथ छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए। सत्ता साझेदार माओवादी केन्द्र र जसपाले सरकार छाडेर अल्पमतमा परेपछि सरकारले जेठ ३१ मा चल्दाचल्दैको बर्खे अधिवेशन अन्त्य गरेको थियो र जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएको थियो।