मंगलबार, साउन २६, २०८३

मासु उत्पादनमा गोरखाका कृषकलाई अनुदान

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने ८५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ। उनीहरूलाई मासु उत्पादनका आधारमा २५ लाख रुपैयाँ अनुदान वितरण गरिएको हो।  

चालू आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो ३० अनुदान उपलब्ध गराएको छ।

चालू आवमा २ हजार ३७९ बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको अध्यक्ष भट्टले बताए। यसबाहेक १२१ राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको छ।

गाउँपालिकाले सम्बन्धित वडाका पशु सेवा प्राविधिकको निगरानीमा किसानको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको थियो। गाउँपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्ट बताउँछन्।

‘किसानले पालेर बिक्रीका लागि योग्य भएका राँगा, खसी, बोका र थुमाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको हो,’ उनले भने, ‘पशुपालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा पालिकाभित्र मासु र मासुजन्य उत्पादन बढाउने योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो।’

कार्यक्रमबाट गाउँपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको विश्वास छ।

प्रकाशित: Jun 29, 2023| 09:47 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्