काठमाडौं- प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ। मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक-पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाइएको जनाइएको छ।
शुक्रबार दिउँसो नै मुख्मन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलार्इ बर्खास्त गरेको पत्र प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष पठाइसकेका छन्। मुख्यमन्त्री पौडेल र स्थापितबीच पहिलेदेखि नै विवाद थियो। मन्त्रिपरिषद् बैठकमा पनि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएको समाचारहरु प्रकाशित भएका थिए। मुख्यमन्त्रीलार्इ उनले पटक-पटक अभद्र ढंगले प्रस्तुत हुने र सार्वजनिक ढंगले मुख्यमन्त्रीको अपमान गरेपछि उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल चलेको थियो।
संविधानत: मुख्यमन्त्रीले प्रदेश मन्त्रीलार्इ आवश्यक कारणसहित हटाउन सक्ने प्रावधान छ। स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं आएका थिए।
मन्त्री स्थापितले पनि विवाद भएको स्वीकार गरेका थिए। उनले पदबाट राजीनामा नदिने चेतावनीसमेत दिएका थिए।
स्थापितमाथि महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले 'मिटु अभियान' कै क्रममै आफूलार्इ दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। रश्मिला प्रजापतिले भने स्थापितले १५ वर्षअघि महानगरमा हुँदाको स्मरण गर्दै पटक पटक आफूलाई फोन गरेर ‘हृयारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन्।
मि टु अभियान अन्तर्गत सन्चारकर्मी प्रजापतिले केही दिनअघि फेसबुक र अन्य सन्चारमाध्यममार्फत आफूले स्थापितको प्रस्ताव नमान्दा जागिरबाट निकालिनुपरेको दावी गरेकी थिइन्। स्थापितले पटक-पटक आफूलाई गाडी नै पठाएर निजी सम्बन्धको प्रस्ताव राखेको आरोप लगाएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४