२०३५ सालदेखि बिपी कोइरालाले मेलमिलाप नीतिकै एउटा अंगका रूपमा हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्न थालेका हुन्। त्यो परम्परालाई नेपाली कांग्रेसले अहिलेसम्म निरन्तरता दिइरहेको छ भने वामपन्थी दलहरूले समेत यसकै सिको गरी दसैंतिहार र छठका अवसर पारी चियापान कार्यक्रम आयोजना गर्न थालेका छन्।
काठमाडौं- क्यान्सरबाट पीडित विश्वेश्वरप्रसाद (बिपी) कोइराला अमेरिकामा उपचार गरेर नेपाल फर्किएपछि उनको निवासमा भेट्न आउनेको लर्को लाग्यो। उनलाई तत्कालीन सत्ताले पक्राउ गरी जेल हाल्ने सम्भावना प्रबल थियो। त्यसैले पक्राउ नपर्दै उनलाई भेट्न चाहनेको भीड लाग्नु स्वाभाविकै थियो।
विरोधी दलका कतिपय नेतासमेत बिपीसँगको व्यक्तिगत सम्बन्ध र नाताका कारण उनको निवासमा दसैंका अवसरमा टीका थाप्न पुग्थे। तर पूर्वप्रधानमन्त्रीको हैसियत बोकेका बिपीसँग भेट्न आउनेको अकांक्षा जति थियो त्रास पनि त्यत्तिकै। यसरी टीका लगाउन जानेमध्ये एक थिए, कुनै बेला बिपीका अनुयायी भनेर चिनिएका तत्कालीन सत्ताका एक खम्बा विश्वबन्धु थापा।
घटना २०३५ सालको हो। तत्कालीन गाउँ फर्क राष्ट्रिय अभियानका अध्यक्ष विश्वबन्धु थापा विजया दशमीको दिन बिपीको हातबाट टिका लगाउन जयवागेश्वरीस्थित कोइराला निवासमा गए। उनले बिपीको हातबाट टीका लगाएको खबर तत्कालीन गुप्तचर (सिआइडी) ले राजा वीरेन्द्रसमक्ष पु¥यायो। थापा २०१७ सालको संसद्मा सत्तारूढ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक थिए।
उनको बिपीको हातबाट टीका लगाएको घटनाले राष्ट्रिय राजनीतिमा सनसनी ल्यायो। धेरैले थापा पञ्चायती शासकको कोपभाजनमा पर्ने लख काटे। आफूलाई भेट्न आएकै कारण विश्वबन्धु थापालाई शाही सत्ताले अप्ठ्यारो पार्ने बुझेका बिपीले नयाँ उपाय रचिहाले।
१८ वर्षदेखि आफन्त, परिवार, पार्टीका नेताकार्यकर्तासँग सामूहिक र खुल्ला रूपमा भेट गर्न नपाएका बिपीले चियापान कार्यक्रम मेलमिलाप नीतिकै एक अंगका रूपमा आयोजना गर्ने निर्णय गरे। ‘मेलमिलाप नीतिकै एउटा अंगका रुपमा हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने भनेर बिपीले निर्णय गर्नुभयो’, राजनीतिक इतिहासकार तथा लेखक पुरुषोत्तम बस्नेतले भने।
आफूलाई भेट्न आउने कांग्रेस नेता, कार्यकर्ता, आफन्त र साथीहरुलाई समेत तत्कालीन सरकारले सत्ताविरुद्ध कुनै षड्यन्त्र गर्ने तथा राज्य विप्लव गर्ने उद्देश्य राखेका व्यक्तिका रूपमा हेर्ने र सोहीबमोजिम व्यवहार गर्ने देखेपछि बिपीले २०३५ सालदेखि गर्दै आएको चियापानलाई कांग्रेसले अहिलेसम्म निरन्तरता दिँदै आएको छ। कांग्रेसकै सिको गरी अहिले अन्य दलले पनि दसैंतिहारजस्ता चाडको अवसर पारी चियापान कार्यक्रम आयोजना गर्न थालेका छन्।
२०१७ पुस १ को शाही कदमपछि तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका अधिकांश नेताहरु कोही जेल परे भने कोही भारतमा निर्वासित जीवन बिताउन बाध्य भए। २०३३ पुस १६ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बिपीसहित सबैलाई एयरपोर्टबाटै जेल हालिएको थियो।
क्यान्सरका कारण पीडित बिपीलाई तत्कालीन सरकारले जेलबाट मुक्त गरी २०३४ साल जेठमा उपचार गर्न संयुक्त राज्य अमेरिका जाने अनुमति दिएको थियो। उपचारपछि अमेरिकाबाट फर्किएका बिपीले भारतको पटनामा कांग्रेसको सम्मेलन गरी कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। कात्तिकमा नेपाल फर्किएका बिपी पुनः पक्राउ परे।
२०३४ फागुनमा उपचार गर्न अमेरिका जाने भएपछि बिपीलाई जुलमुक्त गरियो। २०३५ साल भदौमा उपचारपछि फर्किएका बिपीलाई सरकारले पक्राउ गरेन। त्यसपछि उनले धेरैसँग भेटघाट गर्ने अवसर पाए।
२०३५ सालमा बिपीले पहिलोपल्ट आयोजना गरेको चियापानमा कांग्रेसका कार्यकर्ताबाहेक पेसाकर्मी र उच्चपदमा पुगेकालाई पनि बोलाइएको थियो। बस्नेतका अनुसार २०३५ सालमा बिपीले आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्रीहरू डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य, डा. केआई सिंह, कम्युनिस्ट पार्टीका नेता मनमोहन अधिकारी, सहाना प्रधान, सिद्धिलाल सिंहलगायत सहभागी थिए थिए।
चियापानमा कांग्रेसका पुराना नेता भएर पनि पञ्चायतमा पसेका विश्वबन्धु थापा, सूर्यबाबु (सूर्यप्रसाद उपाध्याय), श्रीभद्र शर्मा, परशुनारायण चौधरी, साहित्यकारहरु मोहन कोइराला, रत्नशमशेर थापा, ईश्वर बल्लभ, कृष्णभक्त आदि पनि सहभागी थिए।
बिपीको निधन भएको वर्ष २०३९ मा भने चियापान कार्यक्रम आयोजना गरिएन।। उनको निधनपछि लौहपुरुष गणेशमान सिंहले सत्ताको त्रासदीपूर्ण वातावरणका बीच पनि मेलमेलाप र भाइचारको उद्देश्यले भन्दै २०४० देखि चियापान कार्यक्रम आयोजना गर्न थाले।
२०४२ सालको सत्याग्रह अभियान चलेका बेलामा समेत गणेशमान सिंहले चियापान कार्यक्रम आयोजना गरे। २०५४ साल असोजमा गणेशमान सिंह, २०६६ साल चैतमा गिरिजाप्रसाद कोइराला, २०६७ फागुनमा कृष्णप्रसाद भट्टराई र २०७२ मा सुशील कोइरालाको निधन भएकाले ती वर्षको कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान कार्यक्रम आयोजना गरेन। यस्तै २०७२ मा महाभूकम्प गएकले चियापान कार्यक्रम आयोजना गरिएन।
२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ मा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले चियापान गर्ने परम्परा थालनी गरे। अधिकारीले भने दसैं, तिहार, छठ र नेपाल संवतको अवसरमा भन्दै चियापान कार्यक्रम आयोजना गर्न थालेका हुन्। एमालेले त्यतिबेला दसैं र तिहार बीचमा पारेर आयोजना गर्दै आएको चियापान कार्यक्रमको सिको तत्कालीन नेकपा माओवादीले पनि २०६५ सालदेखि गरेको थियो। माओवादीले एमालेसँग एकता हुनुअघिसम्म चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो।
यस वर्ष पनि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर गठित नेपाल कम्युनिस्ट पार्टीले गत कात्तिक १० गते चियापान कार्यक्रम गरिसकेको छ। चियापान कार्यक्रममा कांग्रेसले हरेक वर्षजस्तै यो वर्ष पनि राष्ट्रिय जीवनका ख्यातिप्राप्त र उच्च ओहदामा पुगेका व्यक्ति, पार्टीका कार्यकर्ता, अन्य दलका नेता, पेसाकर्मी र कूटनीतिक नियोगका प्रतिनिधि र प्रमुखहरूलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएर चियापान कार्यक्रम आयोजना गरेको छ।
‘यो कार्यक्रम चिया र बिस्कुट खानका लागि मात्र होइन, राजनीतिक रुपमा जति विमति भए पनि यसलाई न्यून गर्दै सौहार्दपूर्ण वातावरण निर्माण गर्नु यो कार्यक्रमको उद्देश्य हो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘राजनीतिक रुपमा देखिएका असमझदारीालई चिर्न चियापान कार्यक्रम महत्त्वपूर्ण छ।’
गत असोज २२ गते कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन भएकाले कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम १६ कात्तिकमा आयोजना गरेको हो।
नेपाली कांग्रेसले यो वर्षदेखि चियापान कार्यक्रमलाई फरक ढंगले आयोजना गर्न थालेको छ। यस वर्षदेखि केन्द्रीय कार्यालयमा आयोजना हुने चियापानमा काठमाडौं, ललितपुर र भक्तपुरका समेत नेताकार्यकर्ता र शुभेच्छुकहरू सहभागी हुनेछन् भने अन्य ७४ जिल्लामा जिल्ला कार्यसमितिले जिल्लास्तरमै चियापान कार्यक्रम एकै दिन आयोजना गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४