मंगलबार, साउन २६, २०८३

सौर्य ऊर्जाले झिलीमिली मुगुको सोरुकोट

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

मुगु- सोरु गाउँपालिकाको सोरुकोट सौर्य ऊर्जाको बत्तीले झिलीमिली देखिएको छ। वैकल्पिक ऊर्जा र गाउँपालिकाको आर्थिक सहयोगमा एक सय ३६ सोलार पाता र ९६ ब्याट्री जडान गरेर ६० वाटको विद्युत् उत्पादन गरी दुई सय परिवारको घरमा विद्युत् पुर्‍याइएको छ।

दियालोको भरमा रात कटाउँदै आएका सोरुकोट, रोकायाबाडा, बन्जाहलगायत गाउँका बासिन्दा सौर्य ऊर्जाबाट घरमा बिजुली बाल्न पाएपछि खुसी भएका छन्। सौर्य ऊर्जाको बत्ती बाल्न पाउँदा खुसी लागेको सोरुकोट गाउँका उनबहादुर शाहीले बताए।

गाउँपालिका, प्रहरी चौकी, वन डिपो, खाद्य डिपो, इलाका प्रशासन कार्यालय रहेको सोरुकोटमा सौर्य ऊर्जाको बत्तीले कर्मचारीलाई कामकाज गर्न पनि सहज भएको बताइएको छ।

यस्तै, सौर्य ऊर्जाको बत्तीले पालिकाको प्रशासनिक कामकाज गर्न सहज भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए। पानीको स्रोत नभएको सोरुकोटमा वैकल्पिक ऊर्जा र पालिकाको आर्थिक सहयोगमा सौर्य ऊर्जा प्रविधिबाट विद्युत् उत्पादन गरिएको हो।

सोरुकोटका बासिन्दालाई रातमा उज्यालोदेखि मोबाइललगायतका विद्युतीय उपकरण चार्ज गर्न तथा साना उद्योग सञ्चालन गर्न सुविधा भएको छ। सौर्य ऊर्जाबाट उत्पादन गरिएको बत्तीले सोरुकोट झिलीमिली भएको पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए। उक्त विद्युत्लाई सोरुकोटभन्दा केही टाढाका बस्तीमा पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ छ।

प्रकाशित: Jun 28, 2023| 20:44 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्