काठमाडौं-कतारमा ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको वाइडबढी जहाज ‘अन्नपूर्ण’ केही समयपछि नेपालका लागि उडान भर्ने भएको छ। उक्त बिमान साँझ साढे पाँच बजेभित्र त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल एयरलाइन्सका सहप्रवक्ता शैलेश कंसकारले नेपाल समयलाई जानकारी दिए।
कतारको समयअनुसार राति २ बजेपछि उड्नुपर्ने जहाजमा समस्या आएपछि ग्राउन्डेड भएको थियो । विमानले उडान भर्न नसकेपछि त्यहाँ रहेका दुई सय ७४ यात्रु अलपत्र परेका थिए । झण्डै सात घण्टापछि विमानको प्राविधिक समस्या समाधान गरेर उडान योग्य पारिएको पनि कंसकारले बताए।
नियमित उडान भर्ने जहाजका साना तिना प्राविधिक समस्या आइरहने भन्दै कंसकारले यो ठूलो घटना नभएको र सात घण्टा डिले भएको बताए । नेपालमा जहाजको संख्या कम हुँदा कुनै कुनै समय यस्तो समस्या आउने गरेको पनि उनले सुनाए।
नियमित तालिका अनुसार बिहान साढे नौ बजेभित्रमा जहाज त्रिभुवन विमानस्थल आइपुग्नुपर्ने थियो।
राष्ट्रिय ध्वजाबाहक 'ए ३३०–२००' जहाज गत असार १४ गते नेपाल भित्रिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४