दाङ- दाङको तुलसीपुर उपमहानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘स्मार्ट छोरी बिहेबारी २० वर्ष पारि’ कार्यक्रम अघि सारेको छ। कार्यक्रमअनुसार बालविवाहलाई निरुत्साहित गर्दै स्मार्ट छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने नीति उपमहानगरले सार्वजनिक गरेको हो।
उपमहानगरले गत आइतबार पेस गरेको आगामी आवको बजेटमा ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैँका लागि’ मूल नारा पनि अघि सारेको छ। उपमहानगरले आगामी आवका लागि कुल १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार ७५० को बजेट विनियोजन गरेको हो।
आन्तरिक स्रोतबाट २१ करोड, स्थानीय तह राजस्व बाँडफाँट, मालत, रजिष्ट्रेसनबाट १२ करोड, ढुंगागिट्टी दहत्तर बहत्तरबाट ३ करोड र विज्ञापन करबाट १५ लाख गरी कुल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ।
पालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान २९ करोड ८ लाख, ससर्त अनुदान ६५ करोड १३ लाख, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान १ करोड र राजस्व बाँडफाँट संघ २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टीबाट १५ लाख गरी कुल १ अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान २ करोड २३ लाख ४१ हजार, ससर्त अनुदान २ करोड ३६ लाख ५० हजार, समपूरक अनुदान २ करोड, राजस्व बाँडफाँट प्रदेश २ करोड ११ लाख ३० हजार ७५० गरी कुल ८ करोड ७१ लाख २१ हजार ७५० प्राप्त हुने अनुमान गरिएको छ।
अन्य संघ–संस्था अनुदानमा नगर विकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान ४५ लाख र सडक बोर्ड नेपालबाट १ करोड, युएसआइडी (जिटुजी) कार्यक्रम सञ्चालनका लागि ३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ।
यसैबीच तुलसीपुर उपमहानगरले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ। यसका लागि २५ करोडभन्दा बढी रकम छुट्याइएको छ। पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तुलसीपुर ट्रेड टावर निर्माणका लागि ११ करोड, यातायात पूर्वाधारका लागि ६ करोड लगायतका शीर्षकमा रकम विनियोजन गरिएको छ।
बजेटमा तुलसीपुर उपमहानगरका गौरवका आयोजनाका लागि ५ करोड रकम विनियोजन गरिएको छ। त्यस्तै, उपमहानगरको आफैंले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पताल र तुलसीपुर मेट्रो कलेजलाई प्रदान गरिने सेवासुविधा विस्तारका लागिसमेत बजेटमा प्राथमिकता दिएको छ।
वडा–१, ३, ४ र १९ मा वायु ऊर्जा उत्पादन केन्द्र स्थापना गर्न सम्भाव्यता अध्ययनका लागिसमेत बजेट विनियोजन गरिएको छ। उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको छ। तुलसीपुरको अभियान, छोरीलाई विशेष सुरक्षा र सम्मान, स्मार्ट छोरी बिहेबारी २० वर्ष पारि कार्यक्रमलाई पनि प्राथमिकता दिई आवश्यक बजेट विनियोजन गरेको छ।