मंगलबार, साउन २६, २०८३

बेहुलाले मण्डपमै ५० लाख दाइजो मागेपछि...

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं- एक जना बेहुलालाई प्रहरीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ। मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुला पक्राउ परेका हुन्।

सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अमेरिकाको ग्रिन कार्ड प्राप्त व्यक्ति हुन्।

पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेका थिए। यस विषयमा दुई पक्षबीच विवाद भएपछि बेहुली पक्षले प्रहरी बोलायो।

प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बेहुला पक्षले बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो। बेहुलीमाथि गाली बेइज्जती र हातपात समेत भएको प्रहरीले बताएको छ।

बिहे खर्च भनेर केटा पक्षले पटकपटक गरी २२ लाख रूपैयाँ लिइसकेको पनि खुलेको छ। पक्राउ परेका रौनियारलाई प्रहरी वृत्त मालिगाउँमा राखिएको छ।

प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 28, 2023| 05:50 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्