शुक्रबार, असार ५, २०८३

मेलम्चीको पानी बर्खामा पनि ल्याउने योजना

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ। ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो।

National life

ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। अहिले सबै ढोकाहरु उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द गर्ने र खोल्ने व्यवस्था मिलाइसकिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। ढोकाहरू मानिस नगएरै सञ्चालन गर्न सकिने भएकाले पानी सफा हुँदासम्म चलाइराख्न सकिने उहाँको भनाइ थियो। सूचना अधिकारी पन्तले भने,‘पानी धमिलो आएको बेला बन्द गर्ने गरी उपाय अपनाइएको छ।’

सामान्य वर्षामात्र हुँदा पानी नियमित पथान्तरण गर्न सकिने भए पनि ठूलो किसिमको बाढी आयो र ढुङ्गाहरु नै बगाउने भएमा त्यस्तो अवस्थामा पूरै बन्द गर्नुपर्ने उनले बताए। पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको छ।

‘कहिलेदेखि पानी नियमित सञ्चालन गर्ने भन्ने विषयमा अहिले समिति पर्ख र हेरको अवस्थामा रहेको छ। ठूलो क्षति हुने अवस्थामा बाहेक पानी ल्याउन रोकिँदैन। माथितिर ठूलो वर्षा भएको र बाढी आउने सम्भावना छ भन्ने पूर्वसूचना आउँदा ढोका बन्द गरिने छ’, सूचना अधिकारी पन्तले भने, ‘सुरुङभित्र पानी रहिरन्छ र बीचमा केही समयका लागि बन्द भए पनि पानी सङ्लो हुँदा पुनः चलाउने गरी तयारी गरिएको छ।’

गत वर्ष जसरी यो महिनादेखि त्यो महिनासम्म बन्द गर्ने भनी अहिले नै तालिका बनाएर नगरिने भए पनि बाढीका कारण बन्द गर्नुपर्दा छोटो समयका लागिमात्र बन्द हुनसक्ने उनको भनाइ थियो। धमिलो पानी आएको समयमा बन्द गर्दै खोल्दै गरेर चलाउन सकिने भए पनि त्यसो गर्दा सुरुङमा बालुवा जाने सम्भावना बढी हुन्छ। पछि केही समय सुरुङ सफा गर्न पनि पानी वितरण बन्द गर्नुपर्ने हुँदा पहिले नै सावधानीपूर्वक चलाउन लागिएको हो।

Shivam cement

सुरुङको नियमित मर्मतसम्भार र निरीक्षण योजना बनाएर गरिँदै आपइएको छ। वर्षामा पनि धमिलो पानी आउँदा केही समयका लागि बन्द गरे पनि पुनः सञ्चालन गर्न समस्या नहुने सूचना अधिकारी पन्तले बताए। सुरुङमा रहेको १ नं ढोकाबाट पानी गएपछि नौ नं ढोकाले पखाल्ने काम गर्छ। पखालेपछि केही समय सुरुङमा पानी नराखिने र त्यो त्यो ढोका सफा भएपछि पुनः सुरुङतर्फ पानी पठाइने योजना रहेको छ।

सामान्य वर्षाले मेलम्ची नदीको सतहमात्र बढेको छ भने पानी सुरुङमा नियमित पठाउन समस्या नहुने समितिले जनाएको छ। २०७८ असार १ मा आएको जसरी एकै पटक ठूलो बाढी आएमा भने बन्द गर्नुपर्ने हुनसक्ने उनले बताए। संरचना नै क्षति हुने गरी बाढी आएमा मात्रै लामो समय सुरुङ बन्द हुनसक्छ।

प्रकाशित: Jun 27, 2023| 19:28 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्