शुक्रबार, असार ५, २०८३

८२ वर्षीया यामकुमारी, जसले बुनेको गलैंचा अमेरिका पुग्छ

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायतका कपडा बुन्ने गर्छिन्।
 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

बेनी- मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छिन्। उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ। बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ।

National life

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायतका कपडा बुन्ने गर्छिन्। आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले जानकारी दिइन्। ‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा  लैजाने गर्छन्’, उनले भनिन्।

एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु सात हजारसम्ममा बिक्री हुने गरेको वृद्धा पुनले बताइन्। फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आएकी छिन्। गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले बताइन्। ‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु’, उनले थपिन्।

झोला, गलबन्दी, स्वीटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ। गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने वृद्धा पुनको भनाइ छ। तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो। 

उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आएकी छिन्। समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक सङ्घसंस्थाको नेतृत्व नै गर्न सक्छन् भन्ने उदाहरण वृद्धा पुन बनेकी छिन्। विसं २०५२ मा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उनले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आएकी छिन्। 

Shivam cement

गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुर्खौली संरक्षणमा अगुवाइ गर्ने उनको हिम्मत अनुशरणयोग्य छ। गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ। पुन सोही भवनमा एकलरूपमा बसोबास गर्दै आएकी छिन्। गोदावारी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाइलगायतका गतिविधिसमेत गर्दै आएको छ। 

प्रकाशित: Jun 27, 2023| 22:33 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्