शुक्रबार, असार ५, २०८३

बाँझो जमिनमा अंगुर खेती

 |  मंगलबार, असार १२, २०८०

सानेबहादुर नेपाली/मिला दरै

सानेबहादुर नेपाली/मिला दरै

मंगलबार, असार १२, २०८०

तनहुँ-  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अंगुर खेतीबाट उत्पादन सुरु भएकाे छ। फार्ममा उत्पादन भएको अंगुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले बताए।

National life

कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब ९ हजार ५ सय बिरुवा रोपिएका थिए। जसबाट वार्षिक १० हजार केजी अंगुर उत्पादन गर्ने लक्ष्य छ। वाइन उत्पादन गर्ने उद्देश्यसहित स्वीट्जरल्याण्डबाट विरुवा ल्याइ व्यावसायिक अंगुर खेती सुरु गरिएको ‘भाइन यार्ड एण्ड रिसर्च सेन्टर’का सञ्चालक समेत रहेका कार्कीले बताए। ‘हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं। यसवर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो भइरहेको छ,’ कार्की भने।

कार्कीले धादिङको थाक्रे गाउँपालिका–१० जुङे खोला केवलपुरमा पनि विगत १५ वर्षयता १ सय ५० रोपनी क्षेत्रफलमा अंगुर खेती गर्दै आएका छन्। वाइनका लागि थप अंगुर आवश्यक भएपछि तनहुँको बाह्रबीसेमा २ वर्षयता ७० रोपनी बाँझो जमिनमा अंगुर खेती सुरु गरिएको उनको भनाइ छ।

कार्कीका अनुसार हाल विभिन्न ३२ प्रजातिका अंगुर खेती गरिए पनि केही प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिइरहेका छन्। ‘स्वीट्जरल्याण्डबाट ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म खर्चेर ३२ प्रजातिका बिरुवा ल्याएका थियौँ,’ उनले भने, ‘हाल ८ देखि १० प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिएका छन्।’

बिरुवा लगाएको पहिलो वर्षमै अंगुरले फल दिन सुरु गरेको उनले बताए। उनका अनुसार धादिङको फार्ममा ३८ करोड ५० लाख रुपैयाँ र तनहुँमा १ करोड ५० लाख रुपैयाँ गरी ४० करोड रुपैयाँ लगानी भइसकेको छ। ‘हामीसँग हाल वार्षिक ३ लाख लिटर वाइन उत्पादन क्षमता छ, यसले पनि अंगुर खेतीलाई प्रोत्साहन गरेको छ,’ उनले भने, ‘वाइनको माग राम्रो भएकाले अंगुर उत्पादन खपतको चिन्ता छैन।’

Shivam cement

उनका अनुसार कम्पनीले ७५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन भइरहेको छ। जसलाई बजारमा प्रतिबोतल १ हजार २ सय रुपैयाँमा बिक्री गरिरहेको कार्कीको भनाइ छ।

कार्कीको फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत प्रकारका अंगुर उत्पादन भइरहेको छ।

‘बिरुवा रोपेको एक वर्षमै फल दिन सुरु भइसकेको छ। पहिलो वर्ष प्रतिबोट तीनदेखि चार केजीसम्म अंगुर उत्पादन हुने अनुमान छ,’ फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङको भनाइ छ, ‘अंगुरको बोटमा चैत-वैशाखमा फूल फुल्छ भने त्यसपछि तीनमहिनामा फल टिप्ने खालको हुन्छ।’

फागुनदेखि फूल खेल्ने र असारको पहिलो सातासम्म फल टिप्न सकिने तामाङको भनाइ छ। फार्ममा दैनिक ज्यालादारीमा मासिक १२ देखि १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

विशेष गरी फार्ममा घाँस कटाई, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय कामबाट स्थानीय रोजगारी पाएको र राम्रो आम्दानीको स्रोत समेत बनेको तामाङको भनाइ छ।

नेपालमा अंगुर खेती सफल हुँदैन भन्ने भ्रमलाई चिर्न आफूहरू सफल भएको सञ्चालक कार्कीको भनाइ छ। प्राविधिकको अध्ययनपश्चात नै यहाँ अंगुर खेती सुरु गरिएको थियो।

धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षकअन्तर्गत १२ वटा फार्ममा पर्न सफल भएको र ५५ लाख रुपैयाँ अनुदान समेत पाएको कार्कीले बताए।

घिरिङको माटोमा अंगुर उत्पादन राम्रो हुने भएपछि यहाँका किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए। ‘यहाँको मौसम र माटोले अंगुर खेती उपयुक्त मानिएको छ,’ उनले भने।    -रासस

प्रकाशित: Jun 27, 2023| 21:41 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्