जनकपुरधाम- बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन अध्यक्षसहित दशजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
बिहिबार बृहत्तरका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित दशजना विरुद्ध अख्तियारले विशेष अदालत काठमाण्डौंमा मुद्दा दर्ता गरेको हो।
रंगभूमि मैदान (बारह विघा), गंगासागर र तिरहुतिा गाछी संरक्षण एवम सौन्दर्यीकरण गर्न बृहत्तरबाट सञ्चालित आठवटा ठेक्का मध्ये पाँचवटा ठेक्काको बोलपत्र मूल्यांकन प्रक्रियामा अनियमितता भएको ठहर अख्तियारको रहेको छ।
ै
अनुसन्धानको क्रममा प्राप्त विवरण, सबुत प्रमाण तथा कागजातको आधारमा पाँचवटा ठेक्कामा अनियमितता भएको अख्तियारले जनाएके छ। बृहत्तरले भारतीय सरकारको आर्थिक सहयोगमा सौन्दर्यीकरण कार्य गरेको थियो।
अख्तियारले दिएको जानकारी अनुसार तत्कालीन अध्यक्ष रायविरुद्ध ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा. सूर्यदेव शाहविरुद्ध ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्रविरुद्ध ६६ लाख ४२ हजार ६६४ र लेखापाल उत्तमराज शर्मा ढकालविरुद्ध ६२ लाख ८८ हजार ५ सय ६९ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।
यसैगरी तत्कालीन सवइन्जिनियर परशुराम साहविरुद्ध ३ लाख ५४ हजार ९५, तत्कालीन कार्यकारी निर्देशक राजेशकुमार साहविरुद्ध ६२ लाख ८८ हजार ५ सय ६९, तत्कालीन कार्यकारी निर्देशक गोपाल झाविरुद्ध ९ लाख ८५ हजार ८३८, तत्काली प्रोजेक्ट इन्जिनियर उपेन्द्र झाविरुद्ध १३ लाख ३९ हजार ९३३, ठेकेदार विष्णुबहादुर राउत र प्रदीप नारायण साहविरुद्ध क्रमशः ९ लाख ८५ हजार ८३८ र ३ लाख ५४ हजार ९५ रुपैयाँ माग दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४