काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ। आयोगको टोलीले आइतबार पशुपतिनाथ मन्दिरमा पुगेर जलहरीलाई मन्दिर परिसरमै जोख्न लागेको हो।
अख्तियारको टोलीले मन्दिर परिसरमै नापजाँचको दृश्य रेकर्डका लागि अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ। नापजाँचमा काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरु उपस्थित रहेका छन्।
जलहरीमा राख्ने सुन खरीद गर्दा अनियमितता भएको भन्दै केही समय पहिले प्रतिनिधिसभा बैठकमा नै चर्चा भएपछि अख्तियारले यो विषयमा अनुसन्धान अघि बढाएको हो।
सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो। जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालय समेतले प्रश्न उठाएको थियो।