शुक्रबार, असार ५, २०८३

सडकले मासियो सम्पदा

बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्।
 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

गलकोट- बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्।

National life

बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेको एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ। उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो।

एक सय ५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपिपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गरे। उनले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको गुनासो गरे। अहिले रामरेखामा मात्रै नभई नयाँ सडक खन्ने र विस्तार गर्ने नाममा पूर्खाको सम्पत्तिका रुपमा रहेका चौतारी र वरपिपल मासिने अवस्थामा पुगेको आचार्यको भनाइ थियो।

‘राजमार्गमा परको चौतारी जोगाउन सकिएन, पूर्खाको सम्पत्ति मासियो, हाम्रो मात्रै होइन धेरै स्थानका चौतारी मासिएका छन्, वरपिपल ढलेका देखिन्छन्, वातावरणलाई समेत यसले नकरात्मक असर पारिरहेको छ’, उनले भने।

आचार्यले स्थानीय सरकारले वरपिपल र चौतारी संरक्षण अभियान ल्याउनुपर्ने बताए। ‘अहिले गाउँ–गाउँका सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरी मासेर यातयातका साधन पार्किङ गर्ने स्थान बनाइएको छ’, आचार्यले भने, ‘ग्रामीण क्षेत्रमा सडक पुर्‍याउने नाममा चौतारी र पोखरी मासिन थालेपछि वातावरणलाई समेत नकरात्मक असर परेको छ।’ ठूला वरपिपलका रुख र चौतारीसँगै रहेका पोखरी मासिँदा अहिले पानीका मूल सुक्दै जानुका साथै गर्मीसमेत बढ्दै गएको उनको भनाइ थियो।

Shivam cement

आचार्यले सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरीमा डोजर चलाइएको बताउँदै विसं २०५० सालको तुलनामा जिल्लामा सडक सञ्जाल विस्तार भए पनि पुराना सम्पदा बोकेका वरपिपल मासिने क्रम बढे्को बताए।

गतवर्ष बागलुङ नगरपालिका–३ सिम्लेमा बागलुङ बजारदेखि सिगाना पुर्‍याउने सडक विस्तारका क्रममा ठूलो पिपलको रुख ढलाइएको थियो। अहिले चौतारी र ठूलाठूला वरपिपलका रुख देख्नै मुस्किल भएको स्थानीय बताउँछन्।

स्थानीय चुँडामणि पुन मगरले बागलुङ बजारभित्र रहेका कयौँ चौतारा र पोखरी मासिएको मात्र नभइ सार्वजनिक जग्गा मिचेर व्यक्तिका घर ठडिरहेको गुनासो गरे। ‘अहिले गाउँ–गाउँका वरपिपल त सडक विस्तारका क्रममा मासिएका छन्। वातावरणीय प्रभावलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका वर र पिपलका रुख क्रमश हराउदै गएका छन्’, उनले भने।

पुन मगरका अनुसार सडक विस्तारका नाममा वरपिपल भएका स्थानमा सवारी गुडेका छन्। उनले भने, ‘सर्वजनिक स्थान रहेका रुख सडक विस्तारका क्रममा मासिएका छन्, कतिपयले सार्वजनिक जग्गालाई नीजिकरण समेत गरेका छन्।’ यहाँका स्थानीय तह तथा वडा कार्यालयले आफ्नो क्षेत्रमा भएको सार्वजनिक जग्गा, चौतारी, पोखरी र वरपिपल जस्ता सम्पदाको तथ्याङ्क संकलन नगरेको मगरले गुनासो गरे।

पुर्खाको पौरख र पसिना जोडिएका विषयलाई संरक्षण नगरेर मास्ने कामलाई कदापी स्वीकार गर्न नसकिने वातावरण तथा फोटो पत्रकार आरके अदिप्त गिरीले बताए। ‘शहर र गाउँलाई सुन्दर बनाउने भन्दै मौलिकता र संस्कृति मास्न हुदैन। विसौनीका रुपमा रहेका चौतारी र छाहरी मास्नु भनेको प्रकृति माथी अत्याचार हो’, उनले भने, ‘पुराना सम्पदा र सभ्यताका सूचक चौतारी र वरपिपलको संरक्षण गर्नु सबैको कर्तव्य हो।’

पूराना सम्पदा मासेर गन्तव्यमा पुग्न नसकिने भन्दै विकासका नाममा मौलिकता बिर्सिन नहुनेमा गिरीले जोड दिए। सडक निर्माण र विस्तारका क्रममा चौतारी र वरपिपल जोगाउन स्थानीयहरुले खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो। गिरीले वातावरण खलबल्याउने विकासले मानवीय सभ्यतानै जोखिममा पारेको बताउँदै सभ्याता, सम्पदा र प्रकृतिलाई जोगाएर मात्रै विकास गर्न आवश्यक रहेको बताए।   -रासस

प्रकाशित: Jun 25, 2023| 19:09 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्