काठमाडौं- भक्तपुर नगरपालिकाले २०८०-८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको चौधौं नगरसभामा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्।
चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख विनियोजन गरिएको छ।
बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई अनुदान दिन २ करोड बजेट छुट्याइएको छ भने शैक्षिक ऋणको लागि २ करोड रूपैयाँ छुट्याइएको छ। विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुले पाउँदै आएको तलबमा नगरपालिकाले प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने व्यवस्था गरेको छ।
ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको गर्न ८ करोड रुपैयाँ, भौतिक पूर्वाधार निर्माणलाई २ करोड रुपैयाँ, सञ्चालन खर्च ३ करोड रूपैयाँ र वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न ३० लाख र भनपा वडा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरेको छ।
नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि १ करोड विनियोजन गरेको छ। हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैयाँ, अरनिको सभाभवन निर्माणका लागि ३ करोड २० लाख र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ।