काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा परेको छ। अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार बालेनविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता गराएकी थिइन्।
सो निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो। इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ।
उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए।
उनले समाजिक सञ्जालमा भनेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन।’