बुधबार, साउन २७, २०८३

बसाइँ सरी आउनेलाई घर उपहार

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार दिने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ बाट उक्त योजना कार्यान्वयन गर्ने भएको हो।

गाउँपालिकाले दुर्गम भेगबाट बसाइँ सरेर सुगमतर्फ जाने प्रवृत्ति निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो। ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ,’ गाउँपालिकामा पेस गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शनिबार गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ।

समुदायमा आधारित समूहको दिगो व्यवस्थापनमा एक घर एक धारा कार्यक्रमलाई थप बस्तीमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँपालिकाको बजारोन्मुख बस्ती पलाँसे चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलिंगेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको छ।

दुर्गम वडामा विद्युतीकरण, काठको पोल विस्थापन गर्ने कार्यलाई प्राथमिकता दिइने योजना गाउँपालिकाको छ। सडक गुरुयोजना पुनरावलोकनमार्फत स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

गाउँपालिका केन्द्रमा स्थापित आधारभूत अस्पताललाई सुविधा सम्पन्न बनाएर वडाहरूबाट अस्पतालसम्म निशुल्क बस सेवा सञ्चालन गरिने छ। स्थानीय रोजगार योजना तर्जुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास विधि र संस्थागत सुदृढीकरणका लागि काम थालिने नीति तथा कार्यक्रममा उल्लेख छ। रासस

प्रकाशित: Jun 25, 2023| 15:22 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्