बुधबार, साउन २७, २०८३

विपन्नलाई घर बनाउँदै वडाध्यक्ष बोहोरा

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले महाकाली तटीय क्षेत्रमा अतिविपन्न परिवारका लागि नमुना बस्ती निर्माण अभियान थालेका छन्। भीमदत्त–१३ सोनापुर टोलमा अतिविपन्न ३० परिवारका लागि दुई कोठे पक्की भान्सासहितको घर निर्माणका लागि उनले सक्रियता बढाएका छन्। 

सोनापुरमा दुई परिवार क्षेत्री र बाँकी २८ दलित परिवारको खरको छाना भएको घर तथा  महाकालीको बालुवा र गिटी छान्ने काम भइरहेको छ। वडाध्यक्ष बोहराले भने, ‘दातृ निकाय र दातासित गुहार मागेर भए पनि पाँच वर्षभित्र नमुना बस्ती बनाइसक्ने लक्ष्य छ। चालु आर्थिक वर्षमा दुईवटा घर निर्माण थालिएको छ।’ 

एउटा घरको ५० प्रतिशत काम सकेर अर्को घरको जग खन्ने तयारी भइरहेको उहाँले भन्नुभयो। नमुना बस्ती निर्माणका लागि वडा कार्यालयले रु एक लाख विनियोजन गरेको छ। 

त्यसैगरी भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षमा उक्त बस्ती निर्माण अभियानका लागि रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष बोहराको भनाइ छ। ‘निर्वाचनका बेला पनि नमुना बस्ती निर्माण मेरो चुनावी एजेण्डा थियो।‘ स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित बोहराले भने, ‘विपन्न परिवार सानै भए पनि पक्की घरमा बस्न पाउन भन्ने मेरो ध्येय हो।’

बस्ती निर्माणका लागि सबैपक्ष, निकाय र दातासित सहयोग मागेको उल्लेख गर्दै उनले  महाकाली तटीय क्षेत्रका विपन्न परिवार अझै महाकालीको बालुवा, गिटी कुटेर जीविका चलाइरहेको बताए। यसअघि भीमदत्त नगरपालिकामा नगरपालिकाको सहकार्यमा सांसद विकास कोषको रकमबाटसमेत यहाँ राउटे समुदायका लागि घर निर्माण गरिएको थियो।
 

प्रकाशित: Jun 25, 2023| 15:07 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्