बागलुङ- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ। ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो।
शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन्।
सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए। बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पैदलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
उपप्रमुख कायतले भने, ‘शनिबार साँझ ठूलो पानी परेको थियो, राति पहिरो गएछ, अहिले सडक खुलाउने प्रयास भइरहेको छ।’