काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बडा दसैं, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ।
चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिए। कांग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ।
विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष काङ्ग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ।
काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताए।
हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने काङ्ग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेका कारण कात्तिक १६ गते सारिएको हो। नेता बास्तोलाका गत असोज २७ गते निधन भएको थियो।
काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४