बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाही हत्या प्रकरण : माग पूरा नभएसम्म कांग्रेसले शव नबुझ्‍ने

सर्लाही हत्या प्रकरण : माग पूरा नभएसम्म कांग्रेसले शव नबुझ्‍ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम–नेपाली कांग्रेसले पार्टीले अघि सारेका माग पूरा नभएसम्म सर्लाहीको रामनगरमा नेकपाका कार्यकर्ताको आक्रमणमा मारिएका रामविलास महतोको शव नबुझ्ने भएको छ। कांग्रेसले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाही गनुपर्र्ने माग अघि सारेको छ।

कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलासको नेकपा कार्यकर्तासँग भएको झडपमा मंगलबार बिहान गोली प्रहारबाट मृत्यु भएको थियो। महतोको शव मलंगवा अस्पतालमा राखिएको छ।

प्रहरीले दोषी पहिचन नगरी जोगाउन खोजेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेस नेता एवम् सांसद अमरेशकुमार सिंहले दोषीलाई पक्राउ नगरेसम्म र आफूहरूका माग पूरा नभएसम्म महतोको शव नबुझ्ने बताए। सिंहले भने, ‘यी माग पूरा नभएसम्म हामी महतोको शव बुझ्दैनौं।’

रानगर घटनामा गोली चलाउने व्यक्तिको पहिचान भइसकेकाले उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता गराउने प्रक्रिया अगाडि बढिसकेको जानकारी सिंहले दिए। दोषी पक्राउ नपर्नुमा प्रहरीमाथि सरकारको दबाब प्रमुख कारण रहेको आरोप उनको छ।

‘रामनगर घटनामा सरकारको रवैया ठिक देखिएको छैन, हत्या हिंसालाई बढवा दिन खोजेको छ’, सिंहले बिहीबार नेपाल समयसँग भने, ‘घटनाको तीन दिन बितिसक्यो कोही पक्राउ परेको छैन, सरकार र प्रहरीको रबैया गलत रहेको प्रस्ट भएको छ।’ 

‘सुनसरीमा नेकपा कार्यकर्ताको हत्या हुँदा तत्काल सहिद घोषणा गरेर राहत रकम दिन गृहमन्त्री आफैं पुग्नु हुन्छ, तर सर्लाही घटनामा केही प्रतिक्रियासमेत दिन सक्नुभएको छैन,’ सिंहले भने।

प्रहरीको गैरजिम्मेवारीका कारण रामनगर घटना भएको उनले बताए। उनले भने, ‘वडाअध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गरिएको भए सम्भवतः गोली काण्ड टर्न सक्दथ्यो।’ रामविलासको हत्या भएको अघिल्ला दिन नेपाली कांग्रेसबाट निर्वाचित रामनगरका वडाअध्यक्षलाई कार्यालय जाँदै गरेको अवस्थामा नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए।

घटनाका दोषीलाई कारबाहीको दायरमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवालगायतका नेता गम्भीर देखिएको र आफूलाई फिल्डमा बस्न निर्देश गरेको जानकारी नेता सिंहले दिए। ‘पार्टी सभापतिले रामनगर घटनालाई गम्भीरतापूर्वक लिनुभएको छ। उहाँकै निर्देशनअनुसार उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरु बुधबार सर्लाही पुग्नुभयो,’ सिंहले भने, ‘ अपराधी पक्राउ नभएसम्म म फिल्ड छोड्दिनँ।’

घटनामा दुई दलका कार्यकर्ताबीच दोहरो भिडन्त नभएको उनले बताए। उनले भने, भने, ‘दोहरो भीडन्त भएको भए नेकपा कार्यकर्ता पनि घाइते भएको हुनुपर्दछ। तर, कोही घाइते भएका छैनन्। उनीहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन्।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घटनाका दोषीमाथि कारबाही हुने आश्वासन आफूलाई दिएको सिंहले जानकारी दिए। घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा गठित छानबिन समिति झारा टार्ने काममात्र रहेको आरोप सिंहको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।