काठमाडौं- विवादमा आएको दक्षिण भारतीय चलचित्र आदिपुरुषको कमाइमा ७५ प्रतिशतले गिरावट आएको छ। बीबीसी हिन्दीका अनुसार आदिपुरुषले सोमबार ८ करोड ५० लाख कमाएको थियो। यो कमाइ आइतबारको तुलनामा ७५ प्रतिशतले कम भएको जनाइएको छ।
भारतीय फिल्म एक्सपर्ट गिरिश वानखेडेका अनुसार आदिपुरुषले पहिलो तीन दिनमा ११३ करोड रुपैयाँको व्यापार गरेको थियो। प्रभाष, कृति सैनन र सैफ अलि खान अभिनित चलचित्र आदिपुरुषमा प्रयोग गरिएको संवाद आपत्तिजनक भएको भन्दै नेपालमा पनि चर्को विरोध भएको थियो। यस चलचित्रको भारतका विभिन्न राज्यमा विरोध भइरहेको छ।
उक्त विरोधका कारण चलचित्रको व्यापारमा भारी गरावट आएको वानखेडेले बताएका छन्। भारतीय फिल्म व्यापार विशेषज्ञ तरुण आदर्शले ट्विट गर्दै भनेका छन्, 'फिल्मको नकारात्मक 'फिडब्याक' आखिर यसका लागि भारी भएको छ। सुरुवाती तीन दिनमा राम्रो कमाइ भए पनि सोमबारदेखि भने यसको व्यापार ७५ प्रतिशतले घटेको हो।'
गत शुक्रबार रिलिज भएको आदिपुरुषमा चलचित्र विश्लेषकहरुले पनि यसबारे खराब रेटिङ दिएका थिए भने चलचित्र हेरेर फर्किएका दर्शकहरुले पनि यसमा प्रयोग गरिएका संवादबारे आपत्ति जनाएका थिए। यसबारे चर्को विरोध भएपछि चलचित्रका संवाद लेखक मनोज मुन्तशिरले दर्शकहरुको भावनालाई कदर गर्दै फिल्मको केही संवाद परिवर्तन गरिएको जानकारी गराएका थिए।
यसअघि नेपालका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्ममा समावेश ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादलाई भारतले सच्याउनुपर्ने अडान राख्दै प्रदर्शन रोकेको थियो। तीन दिन समय दिँदा पनि नसच्याइएको भन्दै मेयर बालेनले काठमाडौं महानगरका हलमा फिल्म प्रदर्शनमा रोक लगाएका छन्। बालेनको सिको गरेर धरान, पोखराका हलमा पनि आदिपुरुष प्रदर्शनमा रोक लगाइएको छ।
यसरी आदिपुरुष चलचित्रमा रोक लगाइएकफछि भारतीय चलचित्र निर्माता कम्पनी टी-सिरिजले माफी माग्दै मेयर बालेनलाई पत्रसमेत पठाएको थियो। ‘आदिपुरुष’ निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन साह र चलचित्र विकास बोर्डसँग माफी मागेको छ। निर्माता कम्पनीले आइतबार बेलुकी इमेल पठाउँदै आदिपुरुषमा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको हो।
‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौं,’ कम्पनीकी राधिका दासद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘राघव पात्रको रुपमा अभिनेता प्रभासले भनेको डायलग सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो।’
पत्रमा उक्त संवादलाई कलात्मक शैलीबाट मात्र बुझ्न र बृहत् जनसमुदायमा इतिहासप्रति रुचि जगाउने क्रममा प्रस्तुत गरिएको उल्लेख छ।